Logo
१८ पुस २०८१, बिहीबार
(December 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सडकलाई समृद्धिसँग जोडौं’

१५ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक तथा संरचनालाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका छन् ।

सडक बोर्ड नेपालको २२औं स्थापना दिवसका अवसरमा सोमबार बोर्डमा आयोजित कार्यक्रममा उनले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका हुन् ।

अब बन्ने संरचनाले देशको समृद्धि यात्रामा कति महत्त्व राख्छन् भन्ने विषयलाई ध्यान दिन जरुरी रहेको उनको भनाइ छ । नेपाल अझै पनि निर्माणकै चरणमा रहेको भन्दै उनले अब बन्ने संरचनालाई दिगो, सुरक्षित र उपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

जनजीविका, राजस्व संककल, आर्थिक क्रियाकलाप तथा बृहत जनसंख्या र भूगोललाई प्रत्यक्ष फाइदा पुर्‍याउने योजनामा मन्त्रालयले प्राथमिकता दिएको उनको दाबी छ ।

मन्त्री दाहालले अब कुनै पनि संरचना निर्माण गर्दा प्राथमिकता निर्धारण गर्नुपर्ने बताए । कार्यक्रममा मन्त्री दाहालले सडक बोर्ड अन्तर्गत रहेका रुग्ण ठेक्काहरूको शीघ्र व्यवस्थापन गर्न निर्देशन दिए । सडक मर्मतसँगै अनुगमन समेत प्रभावकारी बनाउन उनले निर्देशन दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले आर्थिक वृद्धिको प्रमुख आधार सडक समेत भएकाले आर्थिक विकास र वृद्धिलाई सहयोग पुग्ने गरी सडक सञ्जाल विस्तार गर्नुपर्ने बताए ।

पूर्वाधारमा गरिएको लगानीले दीर्घकालीन प्रतिफल दिने भएकाले कुनै पनि पूर्वाधार तथा संरचना निर्माण गर्दा स्थायित्व र गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

बोर्डका कार्यकारी निर्देशक गणेश केसीले बोर्डलाई स्वायत्त बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका थिए ।

प्रकाशित मिति: Dec 30, 2024

प्रतिक्रिया दिनुहोस्