Logo
२६ पुस २०८१, शुक्रबार
(December 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार विधेयकको प्रतिवेदनबारे छलफल आह्वान

१५ पुस, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार विधेयकको प्रतिवेदनबारे छलफल आह्वान गरेको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्न गठित संसदीय उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न राज्य व्यवस्था समितिले बैठक बोलाएको हो । यही पुस १८ गते बिहीबारका लागि बैठक राखिएको समिति सचिवालयले जनाएको छ ।

यही पुस ३ गते संसदीय उपसमितिले अख्तियार ऐन संशोधन विधेयकको प्रतिवेदन मूल समितिलाई बुझाएको थियो । अख्तियार ऐन संशोधन विधेयकमाथि छलफल गरेर प्रतिवेदन बनाउने जिम्मेवारी नेपाली कांग्रेसका सांसद हृदयराम थानी नेतृत्वको उपसमितिलाई दिइएको थियो ।

थानीको नेतृत्वमा राज्य व्यवस्था समितिले गत कातिक २५ गते उपसमिति गठन गरेको थियो । झण्डै दुई महिना लगाएर संसदीय उपसमितिले अख्तियार विधेयक र भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकको प्रतिवेदन मूल समितिलाई बुझाएको हो ।

संसदीय उपसमितिले नीतिगत निर्णयको परिभाषा गर्दै मन्त्रिपरिषदका निर्णय समेत अख्तियारको क्षेत्राधिकारमा पर्ने गरी विधेयकको प्रतिवेदन तयार पारेको छ ।

तर, विधेयक तयार भएसँगै यसको विषयलाई लिएर राजनीतिक दलहरू आन्तरिक छलफलमा जुटेका छन् । स्वयम प्रधानमन्त्री केपी शर्मा ओलले चासो दिएका छन् ।

प्रमुख सत्ताघटक नेपाली कांग्रेसका नेताहरूसमेत नीतिगत निर्णयको परिभाषा गर्ने र मन्त्रिपरिषदको निर्णय अख्तियारको क्षेत्राधिकारमा पर्ने गरी ऐन बनाउने विषयमा विभाजत भएका छन् ।

कांग्रेसको नेतृत्वमा रहेको संसदीय समितिले गठन गरेको कांग्रेस नेतृत्वकै संसदीय उपसमितिले सर्वसम्मत रुपमा तयार पारेको प्रतिवेदनलाई लिएर कांग्रेस भित्र नै दुई धार देखा परेको छ । यो बेला संसदीय उपसमितिको प्रतिवेदनउपर मूल समितिमा छलफल गर्न लागिएको हो ।

संसदीय उपसमितिका सदस्यहरू भने अख्तियारलाई बलियो बनाउने गरी प्रतिवेदन तयार भएको र अगाडि बढाउन आवश्यक रहेको बताउँछन् । नीतिगत निर्णयको परिभाषा लगायत अन्य विषय पनि महत्वपूर्ण रहेको र संसदमा आएको लामो समय भइसकेका कारण अख्तियार ऐन संशोधन विधेयक र भ्रष्टाचार ऐन संशोधन विधेयक अगाडि बढाउन फेरि ढिला गर्न नहुनेमा उनीहरूको जोड छ ।

संसदीय उपसमितिको सदस्यहरूमा सांसदहरू अशोककुमार राई, चन्दा कार्की भण्डारी, दिलेन्द्र प्रसाद बडू, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लिलानाथ श्रेष्ठ, सरिता प्रसाईं, सवेन्द्र नाथ शुक्ला र हितराज पाण्डे सदस्य छन् ।

प्रकाशित मिति: Dec 30, 2024

प्रतिक्रिया दिनुहोस्