Logo
१८ पुस २०८१, बिहीबार
(December 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्र्याङ्कर व्यवसायीद्वारा व्यवस्थापनको माग

वीरगञ्ज (पर्सा), १५ पुस । मोतिहारी अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी–अमलेखगञ्जमा पेट्राल तथा मट्टितेल ढुवानी गर्दै आइरहेका एक सय चारवटा ट्र्याङ्कर विस्थापित हुने भएका छन् । आयल निगमले पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाटै ल्याउने भएसँगै एक सय चार टैक–ट्र्याङ्करको व्यवस्थापनको विषय पेचिलो बन्दै गइरहेको छ ।

सम्भवत पाइपलाइनबाट नियमित रुपमा पेट्रोल र मट्टितेल ल्याउने कामको सुरुवात पनि यही पुस महिनाभित्रै हुने जनाइएको छ । बरौनीदेखि अमलेखगञ्जसम्म पेट्रोल तथा मट्टितेल ढुवानी गर्दै आइरहेका तीन सङ्गठनले तत्कालै आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग राख्दै आइरहेका छन् । बरौनीबाट अमलेखगञ्ज पेट्रोलियम पदार्थ ढुवानी गर्दै आइरहेका अमलेखगञ्जका पेट्रोलियम ढुवानी व्यवसायी तथा मजदूर सङ्गठनले यही पुस २४ गतेसम्म आफूहरुलाई उचित व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।

अमलेखगञ्जका पेट्रोलियम ढुवानी व्यवसायी सङ्घका अध्यक्ष सुदामाप्रसाद साह कानुले तीनवटै सङ्गठनले बरौनी– अमलेखगञ्ज रुटमा चल्ने एक सय चार ट्र्याङ्कर तथा ट्रकको उचित व्यवस्थापन गर्ने, निजी ढुवानी ट्रैक–ट्रकको व्यवस्थापन गर्ने र एक थान टैंक ÷ट्रक धनी व्यवसायीलाई करार सम्झौता कायम गर्नुपर्ने लगायतका माग राखेको जानकारी दिए ।

‘‘हामीले आइतबारदेखि आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेका थियौँ । हाम्रो मागको सम्बन्धमा आयल निगमबाट पत्र आएकाले पनि १० दिनको लागि स्थगन गर्ने निर्णय गरेका छौँ,’’ उनले भने । अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन ईकाइ अमलेखगञ्ज र नेपाल पेट्रोलियम ट्र्याङ्कर चालक सङ्घ ईकाइ अमलेखगञ्ज लगायतले आयल नियमले आफ्नो जायज माग पूरा नगरेको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलङ्कर आचार्यले ढुवानी व्यवसायीले राखेका माग प्रादेशिक कार्यालयले सम्बोधन गर्न नसक्ने खालका रहेको जानकारी दिए । ‘‘विभिन्न तीन सङ्गठनले राख्नुभएको माग प्रादेशिक कार्यालय सम्बोधन गर्न सक्ने खालका छैनन्,’’ उनले भने,‘‘हामीले उहाँहरुले राखेको मागको विषयमा केन्द्रीय कार्यालयलाई जानकारी गराइसकेका छौँ । त्यसैले पनि उहाँहरुले केही समयका लागि आन्दोलन स्थगित गरेर सहजीकरण गरिदिनुभएको छ ।’’

प्रादेशिक कार्यालयका प्रमुख आचार्यले बरौनी–अमलेखगञ्ज रुटमा सञ्चालित एक सय चार वटा टैक–ट्र्याङ्कर प्रयोगविहीन हुनसक्ने विषयमा आवश्यक सहजीकरण गर्न केन्द्रीय कार्यालयमा पत्राचार गरिसकेको बताए ।

प्रकाशित मिति: Dec 30, 2024

प्रतिक्रिया दिनुहोस्