सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गरिने
रौतहट । नेपाल र भारतको सीमा क्षेत्रमा हुने अवैध गतिविधि पूर्णरुपमा नियन्त्रण गर्ने दुईदेशीय उच्च सुरक्षा अधिकारीहरूको बैठकले निर्णय गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी बिच छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी बर्दिबासमा भएको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। सशस्त्र प्रहरी बल¸ नेपाल नम्बर २ को आयोजनामा डीआईजी स्तरीय बैठक शनिवार साँझ सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी बिच नियमित रुपमा हुने स्तरीय समन्वयात्मक बैठकको आयोजना सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले गरेको हो।
दुईपक्षीय बैठकमा सीमा सुरक्षा¸ सीमा अपराध नियन्त्रण तथा रोकथाम लागूऔषध नियन्त्रण¸ सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रमले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउँदै अघि बढ्न सहयोग मिल्ने सशस्त्र प्रहरी बल नम्बर २ बाहिनीले जानकारी गराएको छ।
बैठकमा सशस्त्र प्रहरी बल¸ नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति डीआईजी कालीदास धौवजी , भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीको सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डिआईजी दीपक कुमार, आईपिएस सेक्टर हेड क्वाटर पूर्णियाका डिआईजी राजेश टीकु, सेक्टर हेड क्वाटर बेतियाका डिआईजी एस सुब्रमन्यमको उपस्थिति रहेको थियो ।
त्यसैगरी दुईदिने कार्यक्रममा मधेस प्रदेश स्थित सशस्त्र प्रहरी बल नेपालका गणपतिहरू ,निमित्त गणपतिहरू लगायतका अधिकृतहरू, एसएसबीका बटालियन कमाण्डेन्टहरु लगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालय बर्दिवासले जनाएको छ।