Logo
१५ पुस २०८१, सोमबार
(December 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण कोरियामा १८१ सवार जेजु एयरको विमान दुर्घटना

काठमाडौँ । दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा २ जना बाहेक सबै जनाको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ ।

दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्ह्यापले छापेको समाचार अनुसार एक जना यात्रु र एक जना चालक दलका सदस्यलाई जीवितै उद्धार गरिएको छ । बाँकीको खोजी कार्य जारी रहेको भएपनि अरू सबै जीवित भेटिने आशा नभएको बताइएको छ ।

विमानमा १८१ जना सवार थिए । जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए । बैंककबाट दक्षिण कोरिया फर्किरहेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।

ल्यान्डिङ गियरको खराबीका कारण आइतबार मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको पहिलो पटक अवतरणको प्रयास असफल भएपछि दुर्घटना अवतरण गर्ने प्रयास गरेको अधिकारीहरूले बताएका छन्।

बैंककबाट कूल १८१ यात्रु बोकेको जेजु एयरको उडान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ९ः०७ मा अवतरण गर्न खोज्दा धावनमार्गबाट ​​चिप्लिएर बारसँग ठोक्किएर दुर्घटना भएकाे हाे ।

योन्ह्यापले नै अर्को समाचारमा ल्यान्डिङ गियरमा खराबीका कारण विमान दुर्घटनामा परेको उल्लेख गरेको छ । दुर्घटनाअघि नै विमानमा समस्या देखिएको समेत अधिकारीहरुलाई उदृत गर्दै समाचारमा उल्लेख छ ।

विमान धावनमार्गको अन्त्यमा नपुग्दासम्म आफ्नो गति घटाउन असफल भएको देखिन्छ भने विमानस्थलको बाहिरी छेउमा रहेको संरचनामा ठोक्किएको सार्वजनिक भिडियो फुटेजहरुमा देखिन्छ । लगत्तै विमानमा आगलागी भएको देखिन्छ ।

प्रकाशित मिति: Dec 29, 2024

प्रतिक्रिया दिनुहोस्