मेयर बालेन शाह : प्रमुख अथिती भएर पनि पछाडी बसे, केवल ४ मिनेट बोले
सार्वजनिक कार्यक्रममा विरलै जाने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह शुक्रबार तीनकुनेमा आयोजित एक कार्यक्रममा देखा परे । पहिलोपटक आयोजना गरिएको कोटेश्वर महोत्सवमा उनलाई प्रमुख अतिथिको रूपमा निम्त्याइएको थियो ।
तीनकुनेभित्रका जग्गाधनीहरुको सहमति र सरस्वती युथ क्लवको सहकार्यमा यो महोत्सव आयोजना गरिएको हो । कार्यक्रममा बालेनसँगै महानगरकी उपमेयर सुनीता डंगोल पनि विशेष अतिथिको रुपमा उपस्थित भइन् । उनीहरु एकै साथ कार्यक्रमस्थल आइपुगेका थिए ।
मेयर-उपमेयरको आगमनले आयोजकहरु औधि उत्साहित देखिए । उनीहरुलाई आसनग्रहणपश्चात राष्ट्रिय गान बजाइयो । राष्ट्रिय गान सकिनासाथ बालेन भने के कारणले हो आफ्नो आसन छोडेर मञ्चको पछाडिपट्टिको सिटमा गएर बसे ।
अन्य अतिथिहरुले आग्रह गर्दा पनि उनी अगााडि आएनन् । बालेनको आगमनपछि अन्य वक्ताहरुले आफ्नो भाषण छोट्याएका थिए । उपमेयर डंगोलले आफ्नो मन्तव्य ३ मिनेटभित्र सकिन् ।
अन्तिममा बालेन बोल्नलाई उभिए । उनले पनि चार मिनेट मात्रै बोले । आफ्नो सम्वोधनमा बालेनले कोटेश्वरका व्यवसायीलाई यस महोत्सवमार्फत आफ्नो पृथक विशेषतालाई उजागर गर्न सुझाव दिए ।
नेपाली उत्पादनको खरिद विक्रीमा जोड दिए । अनि, तीनकुनेको जग्गा अधिग्रहणलाई ‘सरकारले गरेको लुट’ को संज्ञा दिँदे मुआब्जाको लागि दवाव दिन जग्गाधनीलाई आग्रह गरे ।
बालेनको मन्तव्य जस्ताको त्यस्तै :
पूजाआजाका सामानका लागि असन, लुगा किन्न न्यूरोड, मेकानिकल सामानका लागि त्रिपुरेश्वरजस्तै कोटेश्वरको फरक विशेषता उजागर गर्नुपर्छ ।
यस महोत्सवमा नेपालमै बनेका सामग्री पाइयोस् । नेपालमा बनेको सामान धेरै महंगो हुन्छन्, किनभने किन्ने मान्छे धेरै हुँदैनन् । तपाईंहरुले नेपालमा बनेको सामान छैन ? भनेर सोध्नुभयो भने पसलहरु पनि प्रोत्साहित हुन्छन् र सामान सस्तो हुँदै जान्छ ।
महोत्सवका लागि जग्गा उपलब्ध गराइदिनुहुने जग्गाधनीहरुलाई धन्यवाद । पचासौं वर्षदेखि तपाईंहरुको समस्या समाधान भएको छैन । मुआब्जा पाउनुभएको छैन ।
कहिले कुन सरकार हुँदा मुआब्जा दिन अपोजिसनले मान्छ कि मान्दैन भन्ने गरिन्थ्यो । अर्को सरकार हुँदा बहुमत हुनेले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो ।
यसपाली त दुई तिहाइको सरकार छ, तर केही पनि भएको छैन । कोही नेताले घरमा आएर काम हुँदैछ भनेर आश्वासन दिनुभएको छ भने नपत्याउनुहोला । केही काम भएको छैन । अहिलेसम्म मुआब्जा दिन केही प्रोसेस भको छैन ।
सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो । मुआब्जाको कुनै पनि प्रोसेस भएको छैन । चाँडै होस भन्ने शुभकामना मात्रै दिन सकिन्छ । दुई तिहाइको सरकारले चाह्यो भने जे पनि गर्न सक्छ ।
गृहमन्त्री आफ्नै, प्रधानमन्त्री, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत–साधन आफ्नै, सबै आफ्नै । हाम्रो वडा समिति पनि त्यही सरकारको, प्रधानमन्त्री पनि त्यही सरकारको, अर्थमन्त्री पनि त्यही सरकारको ।
अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन । मलाई पनि भन्नुहोला, उहाँहरुलाई पनि भन्नुहोला । यथासिघ्र समाधान होस भन्ने शुभकामना । हाम्रो उमेरभन्दा पनि बढी भयो होला यहाँको जग्गा लुटिएको ।
के भन्ने अब, यहाँको मान्छेले दुख पाउनुभएको छ । यस्तो घाममा बस्नुभएको छ । स्टलहरु हेर्नुहोला । नेपालमा बनेको सामान छ कि छैन भनेर प्रश्न सोध्नुहोला ।
साभार : नेपाल प्रेस