Logo
१३ पुस २०८१, शनिबार
(December 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब मान्छे खुवाएर बाघ पाल्न सक्तैनौँ : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन्।

बिहीवार काठमाडौँमा वन तथा वातावरण मन्त्रालयले कोप-२९ को समीक्षा गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए।

नेपालले मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताए।

‘जंगलमा मात्रै होइन, गाउँमा हिँड्दा पनि बाघ छ कि भनेर हिँड्नुपर्छ। हामीले बाघ साढे ३ सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ। डेढ सय बाघ भए पुग्छ‚’ उनले भने‚ ‘उपहार दिऔँ, हाम्रा मित्रहरुलाई। कोही बाज, कोही मयुर पालेका हुन्छन्, त्यस्ता जाबो चरा के पाल्नु, बाघ पाल्ने नि ढ्याप्प। विभिन्न देशलाई उपहार दिऔँ बाघ, खोरसमेतै दिनुपर्छ भने नि दिऔँ तर हाम्रो वनको क्षमताअनुसार जानुपर्छ। मान्छे ख्वाएर बाघ पाल्न सकिँदैन।’

उनले नेपालको वनको क्षमताअनुसार १५० वटाभन्दा बढी बाघ पाल्न नसकिने भए पनि अहिले नेपालमा ३ सयभन्दा बढी बाघ रहेको बताए। अरुले भनेअनुसार बाघको संख्या अब बढाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले नेपाललाई ३० प्रतिशत मात्रै जंगल भए पुग्ने उल्लेख गर्दै नेपालले गरेका कामको सही मूल्यांकन र सम्मान हुन नसके अरु देशका लागि जंगलको संरक्षण गर्न नसक्ने बताए।

उनले नेपाललाई ४७ प्रतिशत जंगल राखेको सम्मान र कदर नगरे ३० प्रतिशतमात्रै जंगल राख्ने र बाँकी भूभागमा अन्न उब्जाएर खाने बताए।

‘अरुले ३० प्रतिशत जंगल राख्छ, हामीले भोकै बसेर ४७ प्रतिशत राख्या छौँ, रेस्पेक्ट हुनुपर्दैन हाम्रो कन्ससनेसप्रति? त्यसमा कन्बिन्सेसन दिनुपर्दैन। हामीलाई ३० प्रतिशत जंगलले श्वास फेर्न पुग्छ, अरुले हाम्रो चिन्ता नगर्ने हामीले मात्रै अरुको चिन्ता गर्नुपर्ने?‚’ उनले भने, ‘हामी सन् २००९ मा बाघ सम्मेलनमा गयौँ। हामीसँग बाघ थिए ११० वटा कि कति थिए‚ हामीले १० वर्षमा डबल गर्ने भन्यौँ र २०१८ मै हामीसँग अढाइ सयभन्दा बढी बाघ भए। अहिले साढे ३ सयभन्दा बढी छन्।’

प्रकाशित मिति: Dec 27, 2024

प्रतिक्रिया दिनुहोस्