भीम रावललाई एमालेले निकालेको होइन्, आफैँ निक्लिएका हुन्: शंकर पोख्रेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टी ननिकालेको दाबी गरेका छन् । शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले रावललाई एमालेले निकालेको भन्दा पनि आफैं निक्लेको रुपमा बुझ्नुपर्ने बताए ।
‘पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र ? त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने बुझ्नु पर्दछ ’ उनले भने ।
बुधबार बसेको एमालेको सचिवालय बैठकले रावलको संगठित सदस्यता खोस्ने निर्णय गरेको थियो । पार्टीको अनुशासन उल्लंघन गरेको ठहर गर्दै रावलको सदस्यता खोसेको एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो ।