Logo
८ पुस २०८१, सोमबार
(December 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘शार्क ट्यांक नेपाल’ घोषणा : उद्यशीलताको नयाँ आइडिया प्रवर्द्धन

काठमाडौं । विश्वचर्चित टेलिभिजन कार्यक्रम ‘शार्क ट्यांक’को नेपाली संस्करण हिमालय टिभीमा आउने भएको छ । सोमबार एभरेस्ट होटलमा आयोजित समारोहमा बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को औपचारिक घोषणा गरियो ।

नेपालका लागि उत्पादन तथा प्रसारण अधिकार प्राप्त गरेको हिमालय टिभीले केही महिनाभित्र कार्यक्रम प्रसारण गर्ने भएको छ । समारोहमा पहिलो सिजनका पाँचजना शार्कहरू (जज) सार्वजनिक गरियो । जसले लगानीको लागि प्रस्ताव लिएर आएका स्टार्टअपमा लगानी गरी उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्‍याउनेछन् ।

पहिलो सिजनका लागि आइएमई समूहका सहसंस्थापक हेमराज ढकाल, अग्नि ग्रुपका संस्थापक क्याबिनेट श्रेष्ठ, वैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह वैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगारिया र पद्मज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिका सार्क (जज)का लागि अनुबन्धित भएका छन् । दुई जना अतिथि शार्क पछि थप्ने तयारी छ ।

सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रुपमा सुरु भएको यो शो अहिले विश्वकै ठूलो व्यावसायिक रियालिटी टिभी शो बनेको छ । सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको यो शोको नेपाल संस्करण ५४ औं फ्रेन्चाइज हो ।

समारोहमा सोनी टेलिभिजन लण्डनका कार्यकारी प्रमुख र भारतीय ‘शार्क ट्यांक’का सदस्यहरूले शार्क ट्याङ्क नेपालको शुभारम्भको अवसरमा हिमालय टिभीलाई भिडियोमार्फत बधाई तथा शुभकामना सन्देश दिएका थिए ।

समारोहमा हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले तीन वर्षअघि नै सोनीसँग सम्झौता भएपनि कोभिड र आर्थिक मन्दीका कारण शो आउन ढिलाइ भएको बताए । नेपालमा व्यवसायको भविष्य सम्भव रहेको, उद्यमशीलताको विकास र सेलिब्रेसन गर्न सकिने सन्देशसहित शो आउन लागेको उनले बताए ।

‘हाम्रा शार्क पनि विश्वका अन्य शार्कजस्तै कुममा कुम मिलाएर अघि बढ्न तयार छन्,’ कँडेलले भने, ‘व्यवसायलाई जति सम्मान हुनुपर्ने हो, त्यो नभइरहेको बेलामा यो शोले सम्मानको वातावरण सिर्जना गर्नेछ ।’

सोनी पिक्चर्स टिभीकी दक्षिण एसिया क्षेत्रीय अन्तर्राष्ट्रिय वितरण उपाध्यक्ष सोनिका भासिनले भारत, बंगलादेश र पाकिस्तानमा अभूतपूर्व सफलतापछि नेपालमा यो शो ल्याउन पाउँदा उत्साहित रहेको उनले बताइन् । ‘शार्क ट्यांकले अनगिन्ती उद्यमीलाई सशक्त बनाएको छ र लाखौंलाई उनीहरूको नवप्रवर्तन र दृढ संकल्पनका कथाद्वारा प्रेरित गरेको छ,’ भासिनले भनिन् ।

‘हामी नेपालमा यो परम्परा फैलाउने र नेपाली नवप्रवर्तनलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरको प्रतीक्षामा रहेको भन्दै भासिनले यसले दक्षिण एसियाको शार्क ट्यांकलाई अझै बलियो बनाउने विश्वास लिएको बताइन् । ‘हामी नेपालबाट उदाउने नवीन उद्यमहरूको प्रतीक्षा गरिरहेका छौं,’ उनले भनिन् ।

जज (शार्क)मध्येका एक ढकालले शोले युवालाई उद्यमशीलतातर्फ प्रोत्साहन गर्ने बताए । शार्कमध्येका अर्का अग्नि समूहका संस्थापक क्याबिनेट श्रेष्ठले यो शो बिजनेस रियालिटी शो मात्र नभएर यसले व्यवसायलाई नयाँ उचाईमा लैजाने बताए ।

नवप्रवर्तन, उद्यमशीलता र लगानीलाई प्रवर्धन गर्ने उद्देश्य राखिएको शोले उक्त समारोहमा आवेदन आह्वान समेत गरेको छ । व्यवसायीले आफ्नो व्यवसायसँग सम्बन्धित डेटा प्रस्तुत गर्दै एक निश्चित प्रतिशत व्यवसायको सेयर वा ऋणको बदलामा लगानी प्राप्त गर्न आवेदन गर्न सक्नेछन् ।

व्यवसाय सञ्चालनमा आएका र विस्तारका लागि लगानी खोजिरहेका नेपाली उद्यमीले हिमालय टिभीको एप र वेबसाइटमा गई आवेदन दिन सक्नेछन् । आवेदन जनवरी १५ तारिखसम्म दिइसक्नुपर्नेछ ।

समारोहमा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र शार्कको रुपमा अनुबन्धित जजहरूले सहभागीसँग प्रश्नोत्तर गरेका थिए । शोलाई ‘हिमालय रोडिज’ फेम्ड सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् । एउटा एपिसोडमा पाँच जना उद्यमी गरेर कुल २० एपिसोडमा १०० जना उद्यमीले आफ्नो व्यवसाय र उद्यमशीलताको आइडिया पिच गर्नेछन् ।

शोका जजमार्फत ३५ देखि ४० करोड रुपैयाँ लगानी उद्यमीलाई जुटाइदिने जनाइएको छ । हिमालय टिभीमा आगामी तीन महिनाभित्र प्रसारणको अपेक्षा राखिएको कार्यक्रमको छायांकन फागुनदेखि गर्ने तयारी छ । कार्यक्रमको छायांकन नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुनेछ ।

हिमालय टिभीले नेपालमा विभिन्न अन्तर्राष्ट्रिय रियालिटी टिभी शोहरूको उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । द भ्वाइस अफ नेपाल, भ्वाइस किड्स, हिमालय रोडिज प्रसारण भइरहेका छन् भने यसैवर्ष अर्को अन्तर्राष्ट्रिय फेसन रियालिटी शो नेपाल नेक्स्ट टप मोडल पनि प्रसारण हुने तयारीमा छ ।

प्रकाशित मिति: Dec 23, 2024

प्रतिक्रिया दिनुहोस्