Logo
६ पुस २०८१, शनिबार
(December 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिका अध्यक्षले फुटाए जिल्ला प्रशासन कार्यालयको स्क्यानर

५ पुस, गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापामगरले जिल्ला प्रशासन कार्यालयको स्क्यानर फुटाएका छन् । बिहीबार अपराह्न मगरले प्रशासन कार्यालयमा रहेको राहदानी फाँटको स्क्यानर फुटाएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

थापाले कालिगण्डकी गाउँपालिका भूगोलको हिसाबले टाढा रहेकाले छुट्टै व्यवस्थाको माग राख्ने क्रममा आवेगमा आएर प्रशासन कार्यालयको स्क्यानर फुटाएको स्वीकारेका छन् ।

थापालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले केहीबेर नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई लिखित रुपमा माफी मगाएर र क्षति भएको स्क्यानर मेसिन किनिदिन सहमत गराएर बिहीबार बेलुकी नै छोडिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

जिल्ला प्रशासन कार्यालयमा एउटा स्टेसनबाट राहदानीको आवेदन लिने काम हुँदै आएको छ । जसको क्षमता ४० जनासम्मको छ ।

तर पछिल्ला केही वर्षयता राहदानी लिनेको संख्या बढेपछि प्रशासनले टोकन प्रणाली र कार्यालय बाहेकको समयमा समेत सेवा दिने गरेको छ । तर पनि सेवाग्राहीको भीड घटेको छैन ।

कालिगण्डकी गाउँपालिका विकट भएकाले त्यहाँका बासिन्दालाई प्राथमिकता दिनुपर्ने माग गाउँपालिका अध्यक्ष थापामगरले राखेका थिए । त्यही विषयमा छलफल भइरहेका बेला उनी आवेगमा आएर स्क्यानर मेसिन नै फुटाइदिएको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताए ।

प्रकाशित मिति: Dec 20, 2024

प्रतिक्रिया दिनुहोस्