Logo
४ माघ २०८१, शुक्रबार
(December 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुरमा अब एकद्वार सेवादेखि फोहोर संकलनमा जिपिएस सेवासम्म

ललितपुर महानगरपालिकाले महानगरवासीहरूलाई एकद्वार सेवा केन्द्रबाट सेवा दिने भएको छ। उक्त सेवा आजदेखि लागू भएपछि सेवा लिन कार्यालयपिच्छे धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको महानगरपालिका १०६औँ स्थापना दिवसको अवसरमा उक्त सेवाको शुभारम्भ गरेपछि सेवाकाे शुरूवात हुनेछ। महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार एकद्वार सेवा केन्द्र पहिला दर्ता चलानी गरिने कोठामा राखिएको छ। त्यसमा एकद्वार सेवा केन्द्र रहनेछ।

उक्त सेवाको लागि कार्यविधि पनि पास भइसकेको छ। ‘पहिला कोही सेवाग्राही आउँदा लेखा होस् चाहे, इन्जिनियर शाखामा होस्‚ प्रत्येकको कोठा-कोठामा धाउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अब जति जना सेवाग्राही आउँछन् उनीहरू कुनै सेवा कामको फाइल एकद्वार केन्द्रमा दिनुपर्छ, त्यहीँका कर्मचारीहरूले तोक लगाउनेदेखि सबै काम आफैँले गर्नेछन् र दर्ता गरेको म्यासेज मोबाइलमा आउँछ, त्यसमा फाइल कहाँ पुग्यो, अन्य प्रकृया के-के भइरहेको छ, सबै जानकारी पाइनेछ।’

उनले सबै काम सकिएपछि एसएमएसमै जानकारी आउने र फाइल लिन जानुपर्ने बताए। ‘काम सकेपछि फाइल लिन आउनुहोला भन्ने जानकारी आउँछ, त्यसपछि एकद्वार सेवा केन्द्रमा गएर फाइल लिनुपर्नेछ, काम पनि सबै सकिइसकेको हुनेछ, यसले दु:ख हट्नुका साथै समयको बचत पनि हुनेछ,’ उनले भने।

फोहोर मैला व्यवस्थापनमा जिपिएस सेवा

महानगरपालिकाले आजदेखि नै फोहोरमैला व्यवस्थापनमा जिपिएस सेवा प्रणालीसहितको सेवा दिन थालेको छ। महानगरपालिकाभित्र पहिला फोहोर व्यवस्थापनमा घण्टी तथा सिट्ठी फुकेपछि मात्रै फोहोर बाहिर ल्याएर गाडीमा हाल्ने प्रचलन थियो।

तर, अबदेखि उक्त व्यवस्थापनमा जिपिएस सेवाको व्यवस्था गरिएको छ। जसअनुसार जुनसुकै महानगरवासीहरूले घरमै बसेर मोबाइलबाट उक्त फोहोर व्यवस्थापन गर्ने गाडी कहाँ पुगेको र आइपुगेको भन्ने जानकारी पाउँछन्।

‘फोहरमैला संकलन गर्ने सवारीसाधनमा जिपिएस सेवा प्रणाली जडान गरिएको छ, पहिला घण्टी बजाएपछि फोहोर फ्याँक्न आउनुपर्थ्याे, अब भने फोहोरको गाडी कहाँ पुग्यो, आइपुग्यो भनेर मोबाइलबाट हेर्न सकिनेछ, घरबाट निस्कन सहज हुनेछ र गाडी कुर्नुपर्ने बाध्यता हट्नेछ,’ प्रवक्ता महर्जनले भने।

त्यस्तै, महानगरपालिकाले भवन निर्माणका लागि नक्सा पास गर्न पनि विद्युतीय प्रणाली सेवा लागू गरेको छ। प्रवक्ता महर्जनका अनुसार आइन्दा डिजिटल साइनमा गरिनेछ। जसअनुसार कुनै पनि व्यक्तिले अबदेखि घरमै बसेर नक्सा पास गर्न सक्ने छ।

‘घरमा बसेर होस वा जिल्लामा बसेर होस् नक्सा पास गर्न सकिनेछ, नक्सा पासको प्रकृया कहाँ पुग्यो यी सबै सबै जानकारी र प्रकृया एसएमसमार्फत प्राप्त गर्न सकिनेछ, पहिलााजस्तो झन्झट समाप्त हुनेछ,’ उनले भने।

ललितपुर आत्मनिर्भर महानगरपालिका हो : बज्राचार्य

महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर आत्मनिर्भर महानगर रहेको बताए।

१०६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भनिन्, ‘यो आत्मनिर्भर महानगर हो, कलात्मक महानगर हो, हस्तकला प्रवर्द्धन गर्ने,गुणस्तरीय शिक्षा प्रदान गर्ने, पर्यावरण, हरियाली प्रवर्द्धन गर्ने महानगरकै उद्देश्य छ।’

उनले ललितपुर महानगरपालिका स्मार्ट महानगरपालिका रहेको त्यसैअनुसार सेवाग्राहीहरुलाई सेवा पनि दिइरहेको बताइन्।

 

प्रकाशित मिति: Dec 17, 2024

प्रतिक्रिया दिनुहोस्