सरकार परिवर्तन हुने हल्ला मात्रै हुन्, कुनै सम्भावना छैनः गृहमन्त्री
चितवन । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।
चितवनमा पत्रकारहरुसँग कुरा गर्दै लेखकले सरकारको स्थायित्वनै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको बताए । यो सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको भन्दै उनले भने , “कांग्रेस र एमालेबीचमा सहमति भएको छ, २०८४ सालसम्म त्यही सहमतिअनुसार हामी अघि बढ्छौँ ।” दुई दलबीचमा कुनै समस्या नरहेको दाबी गर्दै उनले सरकार परिवर्तन हुने भन्ने हल्ला हल्ला मात्रै भएको बताए ।
गृहमन्त्री लेखकले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताए । उनले भने, “संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको छ । संशोधन दुईवटा दलले मात्रै गर्ने होइन ।”
संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्वल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने उनले बताए ।
उनले थपे “संविधान संशोधनका लागि कसै न कसैले त पहल गर्नु पर्यो । प्रारम्भिक छलफल भएको छ । सबै दललाई समेटेर संविधान संशोधन गर्छौँ ।”