Logo
१७ पुस २०८१, बुधबार
(December 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले राजनीतिक अस्थिरता निम्त्याएपछि कांग्रेस र ऐमाले मिल्यौं: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अस्थिरता निम्त्याएपछि नेपाली कांग्रेससँग मिलेर सरकार बनाउनु परेको जिकिर गरेका छन् ।

सोमबार गृह जिल्ला झापाको दमक नगरपालिका ३ बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्ड सरकारले तमासाबाजी देखाउने र साने दलले ठूला दललाई हान्ने काम सुरु भएपछि दुई ठूला दल मिल्नुपरेको बताए ।

‘तमासावाजी गरेर काम गर्नेभन्दा धेरै धाकधक्कु लगाउने चलन चल्यो । बाछाहरुले पनि हान्ने काम सुरु भयो । कहिले एमालेलाई हानेको छ । घ्याच्च पारेर । हान्दा केही त हुने होइन । ती मुडुला सिङ नपलाएका कलिला बाछाका टाउकाले हानेर के भइहाल्दो हो र ?’ ओलीले भने ‘तर, त्यो तरिका चाँही गरे । देश बनाउने कुनै तरिका सोच र व्यवहार देखिएन । अस्थिरता अन्यौलता र स्टण्टबाजीबाट देश बन्दैन । त्यसैले देश बनाउनैपर्छ । देश बनाउनका लागि स्थिरता स्थायित्व चाहिन्छ । त्यसकारण एमाले र कांग्रेस मिलेर स्थिर र सुदृढ सरकार बनाएका छौं । अहिले म प्रधानमन्त्री भएको छु’ ।

फरक प्रसंगमा ओलीले आफू र नेपाली कांग्रेसबीच भएको सहमति अनुसार अब करिब १८ महिना प्रधानमन्त्री बन्ने पनि स्मरण गराए । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीले सुनाए । ‘२ वर्षको अवधि हो मेरो । लगभव ५ महिना भइहाल्यो । अब १९ महिनाजति होला । १८/१९ महिनाभित्र देशको विकासको बाटो जो अवरुद्ध भएको थियो । त्यसलाई सुधार गर्छु । जो अवरुद्ध बनेको थियो । त्यसलाई सूचारु गर्छु । बन्द भएका कामलाई फेरि अगाडि बढाउँछु’ उनले भने ।

जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै ओलीले देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने जनाए ।’देश बनाउन हामी सबै एकताबद्द हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेमा देश बन्दैन’ ओलीले भने,’हामी विभिन्न पार्टीका हुन सक्छौँ तर विकास निर्माणका काममा एक हुनुपर्छ । तपाईंहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईंहरूको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।’

प्रकाशित मिति: Dec 9, 2024

प्रतिक्रिया दिनुहोस्