राष्ट्रिय मानवअधिकार आयोगमा गएनन् प्रहरी महानिरीक्षक बसन्त कुँवर, पुन: पत्र काटिने
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले बयानका लागि बोलाएपनि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर आयोगमा उपस्थित भएनन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चितवनमा प्रहरीले गरेको अमानवीय व्यवहारबारे बयानका लागि राष्ट्रिय मानवअधिकार आयोगले साेमबारका लागि महानिरीक्षक कुँवरलाई बोलाएपनि उनी अनुपस्थित भएका हुन् ।
आयोगले सोमबार दिउँसो १२ः३० मा कुँवरलाई आयोगमा उपस्थित हुन पत्र काटेपनि उनले प्रहरी प्रधान कार्यालयका अन्य अधिकारीलाई पठाएको आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए । ‘हामीले उहाँलाई उपस्थित हुन भनेर पत्र पठाएका थियौँ । उहाँले आफू बाहिर रहेको भन्दै अन्य अधिकारीहरुलाई पठाउनुभएको थियो । उहाँहरुसँग सामान्य सोधपुछ भएको छ । हामी महानिरीक्षकज्यूसँग नै सोधपुछ गर्नेछौँ । त्यसका लागि पुनः पत्र काट्छौँ ।’, प्रवक्ता पोखरेलले बताए ।
प्रहरी महानिरीक्षकलाई बयानमा बोलाइएपनि आयोगमा बयानका लागि एआईजी टेकबहादुर तामाङ र केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्की गएका थिए । दिउँसो करिब १२ः३० मा पुगेका उनीहरु २ बजे आयोगबाट बाहिरिएका हुन् ।