Logo
११ पुस २०८१, बिहीबार
(December 9, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबार चलाएजसरी विश्वविद्यालय चलाउनु हुन्न : उपकुलपति

२४ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले डिन र क्याम्पस प्रमुख नियुक्तिका लागि आफू एक्लैले छनोट समिति र मापदण्ड नबनाएको बताएका छन् ।

एमाले महासचिव शंकर पोखरेलले उपकुलपति बरालले आफू निकटकालाई डीन र क्याम्पस प्रमुख बनाउने गरी समिति र मापदण्ड बनाएको आरोप लगाएपछि उनले सबैलाई समेटेर समिति र मापदण्ड बनाएको स्पष्ट पारे ।

‘उहाँको आरोप सत्य होइन । कहाँ म एक्लैले बनाएको हो र ! साइन्सको, कृषिको, आईओएमको संयोजक को हुन् ? क्याम्पसको छनौट समिति रेक्टरले र सहपरीक्षा नियन्त्रकको रजिस्ट्रारले बनाएको हो । म एक्लैले कहाँ छनोट समिति गठन गरेको छु ? मेरो क्षेत्राधिकारमा पर्ने मैले बनाएको हुँ । कहाँ सबै एक्लैले गर्न सक्छु ?’,  बरालले प्रतिप्रश्न गरे ।

मापदण्ड पनि प्राज्ञ वैचारिक संगठनसँग छलफल गररे बनाएको उनले दाबी गरे । ‘तीन महिना लगाएर वैचारिक संगठनसँग बसेर बनाएको हो’, उपकुलपति बरालले भने ।

उपकुलपति बरालले आफू एक्लैले विश्वविद्यालय चलाउन नसक्ने बताउँदै नियुक्ति कार्यकारी परिषद्ले गर्ने बताए । ‘विश्वविद्यालय भीसीले मात्र चलाउने होइन । नियुक्ति गर्ने कार्यकारी परिषद्ले हो । कसरी म एक्लैले चलाए भन्न मिल्छ ?’, उपकुलपति बरालले भने ।

नियुक्तिका लागि दबाब आइरहेको हो भन्ने प्रश्नमा बरालले  भने, ‘डाइरेक्ट आएको छैन । कुनै नेताले यसलाई नियुक्ति गर भनेको छैन ।’

त्रिविमा ८ वटा संकायको डिन र १८ वटा क्याम्पसमा प्रमुख नियुक्ति गर्नुपर्ने छ । कार्यकारी परिषद्‌मा एकमत नहुँदा ढिलाइ भएको संकेत उपकुलपति बरालले दिए । ‘हामी भित्र एकमत भएको छैन,’ उनले भने, ‘सहमतिबाट नै नियुक्ति गर्छौं । म एक्लैले निर्णय गर्ने होइन ।’

नियुक्तिको विषयमा दलका शीर्ष नेता नै आरोप प्रत्यारोपमा लागेका छन् ।

एमालेका महासचिव शंकर पोखरेलले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उपकुलपति बरालले मेरिटोक्रेसीको नाममा आफूले चाहेको व्यक्ति नियुक्ति गर्नेगरी छनोट समिति गठन गरेको आरोप लगाएका थिए । ‘विश्वविद्यालयमा एउटा निश्चित वैचारिक समूहलाई निषेध गर्नेगरी मेरिटोक्रेसीको भद्दा नाटक मंचन गरिरहेका छन् । यस प्रकारको क्रियाकलापले त्रिभुवन विश्वविद्यालय अघि बढ्ने होइन झन धरासाही हुनेछ,’ महासचिव पोखरेलले लेखेका छन् ।

यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत १४ मंसिरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको कार्यक्रममा अहिलेको सरकारले त्रिविका पदाधिकारीहरूमाथि आक्रमण गर्न थालेको टिप्पणी गरेका थिए ।

त्रिविका उपकुलपति बराल भने सिंहदरबार चलाए जसरी विश्वविद्यालय चलाउन नहुने तर्क गर्छन् । ‘सिंहदरबारमा जे छ विश्वविद्यालयमा पनि त्यस्तै गर्न खोज्नु हुन्छ । यो परम्परा रहेसम्म विश्वविद्यालय यस्तै रहन्छ’, उनले भने ।

प्रकाशित मिति: Dec 9, 2024

प्रतिक्रिया दिनुहोस्