Logo
४ माघ २०८१, शुक्रबार
(December 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारलाई कारबाही गर्न हर्क साम्पाङले लेखे गृहमन्त्रीलाई पत्र

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफू विरुद्ध समाचार लेखेका २ जना पत्रकारलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेका छन् ।

आइतबार साम्पाङले खोज पत्रकारिता केन्द्रका पत्रकार गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषिलाई कारबाही गर्न पत्रमा माग गरेका छन् ।केही दिन अघि खोज पत्रकारीता केन्द्रका लागि दाहालले मेयर साम्पाङले नक्कली माओवादी बनेर चन्दा उठाएको र कारबाहीमा परेको खुलासासहितको समचार लेखेका थिए ।

उक्त समाचारमा दाहालले धरानमा सुशासनको कुरा गर्ने हर्क साम्पाङले गरेको कमजोरी बारेको समाचारमा अहिले मेयर भएर पनि गैरकानुनी चन्दा उठाउने साम्पाङले आफू सार्वजनिक जीवनमा आउनु अगाडि नक्कली माओवादी भएर चन्दा उठाएको खुलासा गरेका थिए ।

तत्कालीन धरानका माओवादी इन्चार्ज प्रवेश राईलाई नक्कली माओवादीको चन्दाको सूचना आएर खोज्दा साम्पाङ रङ्गेहात पक्राउ परेको उल्लेख गरेका थिए । सो समाचार प्रकाशित भएपछि केही युट्यूबरलाई बोलाएर पत्रकारलाई तथानाम गाली गरेका साम्पाङले आज उनीहरुलाई कारबाही गर्न माग गर्दै पत्र लेखेका हुन् ।

प्रेस स्वतन्त्रताको नाममा व्यक्ति र पद दुवैको मानहानि हुने गरी निराधार, भ्रामक र सामाजिक शान्तिमा खलल ल्याउने किसिमको समाचार बनाउने र दुष्प्रचार गर्ने दुवै जनालाई पार्टीगत आबद्धता नहेरी निष्पक्ष रूपमा कारबाही गर्न उनले माग गरेका छन् ।

उनले पत्र मार्फत गृहमन्त्रीलाई लेखेका छन्, ‘… म जस्तो दिनरात जनताको सेवामा लागिरहने घोटिइरहने जनप्रतिनिधिहरूले निर्वाध रूपमा काम गर्न सकियोस् अन्यथा देशको भलो कहिल्यै हुने छैन । आशा छ तपाईं जनताको मर्म बुझ्नुहुन्छ होला । पार्टी भन्दा ठूलो हुन्छ देश । हो त्यही देशको जनताको अभिमत पाएका हामीले देशलाई बिर्सनुहुँदैन ।’

प्रकाशित मिति: Dec 8, 2024

प्रतिक्रिया दिनुहोस्