Logo
६ पुस २०८१, शनिबार
(December 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरियाली विद्रोही समूहको दाबी: राष्ट्रपति असादले राजधानी छाडे

काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असाद राजधानी दमिस्क छाड्न बाध्य भएका छन् । विद्रोहीहरु प्रमुख शहरहरु कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असादले राजधानी छाडेका हुन् ।

विद्रोहीका कमाण्डरहरुले राजधानी दमिस्क असादको शासनबाट मुक्त भएको जनाएका छन् । विद्रोही समूह हयात तहरिर अल शामले आफ्नो टेलिग्राम च्यानलमार्फत् बशर अल असादले देश छोडेको र सिरिया अब स्वतन्त्र भएको बताएको छ ।

रोयटर्सले पनि सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै राष्ट्रपति बसर अल असादले राजधानी छाडेको समाचार लेखेको छ । यद्यपि उनी राजधानी छाडेर कहाँ गए भन्ने उल्लेख छैन ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले राजधानी दमिस्कबाट एउटा निजी विमान उडेको र त्यसमा राष्ट्रपति बशर अल असद हुनसक्ने जनाएको छ ।

सिरियाका विद्रोही समूहले हमा, देरा र तेस्रो ठूलो शहर होम्स समेत कब्जा गरिसकेका छन् । होम्स शहर कब्जा गर्नु विद्रोहीका लागि निकै महत्वपूर्ण मानिएको छ । होम्स कब्जा भएसँगै राजधानी दमिस्कको सम्पर्क अरु शहरबाट टुटेको छ । मिडिया रिपोर्टहरुका अनुसार राजधानी दमिस्कमा गोली चलेको आवाज सुनिएको छ ।

विद्रोहीहरु उत्तर, पूर्व र दक्षिणतर्फबाट अगाडि बढेपछि उनीहरुलाई रोक्न सरकारी सेनालाई आपत् परेको थियो । यसअघि नै राष्ट्रपति असादले देश छाडेको हल्ला चले पनि उनको कार्यालयले त्यसलाई खण्डन गरेको थियो । सिरियाका आन्तरिक मामिला मन्त्रीले भने राजधानी दमिस्कको चारैतर्फ बलियो सैन्य घेरा रहेको दाबी गर्दै त्यसलाई कसैले पनि पार गर्न नसक्ने बताएका थिए ।

तर केही स्थानमा सरकारी सेना विद्रोहीहरु सामु निरीहजस्ता देखिएका छन् । कुनै स्थानमा विद्रोहीहरुलाई रोक्ने कोसिस समेत नगरेको, कुनै स्थानमा आत्मसर्पण गरेको र कुनै स्थानमा उनीहरु आफ्नो स्थान छाडेर भागेको बीबीसीले लेखेको छ ।

विद्रोहीहरुले राष्ट्रपति असदका पिता हाफिज अल असद लगायतको प्रतिमा तोडफोड गर्दै अघि बढेको भिडियो फुटेज सार्वजनिक भएको छ ।

प्रकाशित मिति: Dec 8, 2024

प्रतिक्रिया दिनुहोस्