धरानका मेयर साम्पाङले पत्रकारलाई धम्की दिएको घटनाको महासंघको विरोध
२० मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्की दिएको घटनाप्रति पत्रकार महासंघले ध्यानाकर्षण गरेको छ ।
पत्रकार दाहालले खोज पत्रकारिता केन्द्र (खोपके) मा साम्पाङका गतिविधिबारे समाचार लेखेका थिए । उक्त समाचारप्रति असन्तुष्टि जनाउँदै मेयर साम्पाङले धम्कीपूर्ण स्टाटस लेखेका थिए ।
त्यसप्रति आपत्ति जनाउँदै महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघका सुनसरीका अध्यक्ष जनकऋषि राई र महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ (हर्कराज राई) ले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेखर धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।’
समाचारमा चित्त नबुझ्दा त्यसउपर कानुनी प्रक्रिया हुँदाहुँदै मेयर साम्पाङबाट भएको उक्त हर्कत निन्दनीय भएको विज्ञप्तिमा जनाइएको छ ।
‘समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रिया जाने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्थापित प्रावधान छ । यसलाई बेवास्ता गर्दै सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट गरिएको यो हर्कत अन्यन्त निन्दनीय हुनुका सार्थै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो,’ महासंघको विज्ञप्तिमा भनिएको छ ।
साम्पाङको हर्कतलाई अराजक र अशोभनीय भन्दै यसले पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउन विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुगेको महासंघको ठहर छ ।
हर्कले लेखेका थिए, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान १८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन !’
फेरि अर्कोपटक पनि हर्क साम्पाङले स्टाटस लेख्दै ‘शीर ठाडो पारेर’ हिँड्न नसक्ने बनाइदिने भन्दै धम्क्याएका थिए ।