माओवादी बैठकको निष्कर्ष एक्लै चुनाव लड्ने निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ ।
अध्यक्ष प्रचण्ड निवासमा भएको पदाधिकारी बैठकमा उपचुनावको समीक्षा गर्दै सबैतिर माओवादीको राम्रो जनमत आएको ठहर गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै कीर्तिपुरमा हारे पनि जितकै रूपमा लिएर पार्टी कार्यकर्ता उत्साहित भएको बताए । उनले आगामी जितका लागि उपचुनावले थप आधार दिएको बताए ।
उनले उपचुनावबाट माओवादी पार्टी दोस्रो स्थानमा आएको समेत बताए । सापकोटाले २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको बताए ।
उनले अब पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने जानकारी दिए । उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने बताए ।
सापकोटाले भने– अबको सबै तयारी भनेको २०८४ को चुनाव जित्नका लागि हो । अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजान्छौं । हामी बीचमा केही समय अलमलिए पनि अब जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो लागेको छ ।
सापकोटाले अब २०८४ को चुनावको एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति,पूर्ण समानुपातिक निर्वाचन र सांसदहरु मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्नेतर्फ रहने जानकारी दिए ।