Logo
२५ पुस २०८१, बिहीबार
(December 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले चीनसँग माग्यो ओली-देउवाको गृहजिल्लामा रंगशाला र सिटी हल

१९ मंसिर, काठमाडौं । नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा खेलकुद रंगशाला र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सिटी हल निर्माण गरिदिन चीन सरकारलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालले झापाको दमकमा खेलकुद रंगशाला र डडेलधुराको अमरगढीमा सिटी हल बनाइदिन चीनलाई आग्रह गरेको हो ।

मंगलबार प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग बेग्लाबेग्लै भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा उक्त विषय उल्लेख छ ।

दुवै पक्षबाट १२ बुँदामा संयुक्त वक्तव्य जारी गरिएको छ । त्यसको पाँचौं नम्बरमा नेपाली पक्षले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विकास कार्यमा तीव्रता दिन तथा झापाको दमकमा खेलकुद रंगशाला र डडेलधुराको अमरगढीमा सिटी हल कम्प्लेक्स निर्माण गर्न आग्रह गरेको उल्लेख छ ।

नेपाल र चीनले सबैभन्दा बढी प्राथमिकता दिएको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भने भएको छैन ।

संयुक्त वक्तव्यमा लेखिएअनुसार चीनले मुस्ताङको कोरला क्षेत्रमा आन्तरिक क्लियरेन्स डिपो (आईसीडी) र एकीकृत चेक पोस्ट (आईसीपी) निर्माणमा सहजीकरण गर्ने छ ।

केरुङ-काठमाडौं सीमापार रेलवेको सम्भाव्यता अध्ययनलाई जारी राख्ने, चीन-नेपाल रेलवे सहयोगसम्बन्धी नवौं कार्य बैठक आयोजना गर्ने र चिनियाँ पक्षले नेपाललाई रेलवे क्षेत्रका प्राविधिक जनशक्तिलाई तालिम दिन सहयोग गर्ने विषय पनि उल्लेख छ ।

दुवै पक्षले हवाई कम्पनीहरूलाई पोखरा र लुम्बिनी जस्ता नेपाली सहरहरू तथा चिनियाँ सहरहरूमा उडान सेवा सञ्चालन गर्न प्रोत्साहन गर्ने सहमति जनाएका छन् । यसले द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध र दुईतर्फी यात्रालाई सहज बनाउने विश्वास छ ।

दुवै पक्ष चीन-नेपाल ऊर्जा संयुक्त कार्यान्वयन संयन्त्रको प्लेटफर्मको उपयोगलाई निरन्तरता दिने, ऊर्जा क्षेत्रमा सहकार्यलाई गहिराइमा लैजाने र नयाँ ऊर्जामा पनि आदान-प्रदानको सम्भावनाहरू खोजी गर्ने सहमत भएका छन् ।

नको सहयोगमा केरुङ-रसुवागढी-चिलिमे २२० केभी सीमा-पार विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययनलाई तीव्रता दिने सहमति पनि भएको छ।

साथै, दुई देशका दूरसञ्चार सेवा प्रदायकबीचको सहकार्यलाई निरन्तरता दिने र सीमापार भूमिगत केबलहरूको मर्मत तथा विस्तार परियोजनाहरू सञ्चालन गर्ने सहमति पनि भएको छ ।

प्रकाशित मिति: Dec 4, 2024

प्रतिक्रिया दिनुहोस्