Logo
२६ पुस २०८१, शुक्रबार
(December 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूचना–प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीलाई सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको सूचना–प्रविधि (आइटी) क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गरेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा सामाजिक सञ्जाल टिकटकले आज यहाँ आयोजना गरेको  ‘डिजिटल सेफ्टी समिट’मा उनले  नेपालमा लगानीको सुरक्षा रहेको तथा आइटी क्षेत्र आकर्षक लगानीको विधा भएकाले त्यसमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आह्वान गरेका हुन्। उनले वैदेशिक लगानी सुरक्षित गर्न सरकारले पर्याप्त नीतिगत व्यवस्था गरेको बताए।

टिकटकजस्ता अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरुलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार गरिएको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले निजी क्षेत्र तथा बहुराष्ट्रिय कम्पनीहरुको लगानी सुरक्षा गर्न प्रतिबद्ध रहेको बताए। उनले भने, “नेपालमा डिजिटल टेक्नोलोजीमा लगानीको वातावरण छ, प्रतिफल पनि सुनिश्चित गरिएकाले निर्धक्क भएर लगानी गर्न सक्नुहुन्छ।”

सूचना–प्रविधिको क्षेत्रमा लगानी गर्ने कम्पनीहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले समाजप्रतिको सामाजिक उत्तरदायित्व पूरा गर्नुपर्ने सर्तहरु पनि राखेको जानकारी दिए।

ती सर्त पालना गरेर नेपालमा टिकटक पुनः सञ्चालनमा आएको उनले बताए। सरकारको डिजिटल नेपाल बनाउने उद्देश्य साकार पार्न नागरिक समाज, निजी क्षेत्र, सामाजिक सञ्जाल प्लेटफर्म प्रयोगकर्तालगायत व्यक्ति र संस्थाको साझा प्रयत्न आवश्यक रहेको उनले बताए। मन्त्री गुरुङले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका, २०८१ बमोजिम मन्त्रालयमा टिकटक सूचीकरण भएको बताए।

फरक प्रसङ्गमा सञ्चारमन्त्री गुरुङले सामाजिक सञ्जालहरू मुलुकको मौजुदा ऐन, कानुन र कार्यविधिअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: Dec 3, 2024

प्रतिक्रिया दिनुहोस्