Logo
२६ पुस २०८१, शुक्रबार
(December 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मैले हाकिमहरुको जिब्रो थुत्नुपर्छ भनेको, सनासोले जिब्रो नै तानेकोजस्तो भयोः मन्त्री गुरुङ

काठमाडौं, १६ मंसिर । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूले पोखरामा बोलेको कुरालाई गलत मनशायका साथ प्रचार–प्रचार गरिएको बताएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले बिम्बात्मक रुपमा सरकारको नुन खाएर सरकारविरुद्ध काम गर्ने हाकिमहरुको जिब्रो थुत्नुपर्ने भनेको बताए ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी समायोजन ऐनबारे बोल्दै मन्त्री गुरुङले आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘प्रहरीको आईजीपीले के भन्यो रु म कानुन लागू गर्दिन, हुँ गर्छ । त्यस्तो बोल्न पाउने कि नपाउने रु त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरी ।’

सञ्चारमन्त्री गुरुङको उक्त अभिव्यक्ति चौतर्फ आलोचना भएको थियो । आफूले पोखरामा दिएको उक्त अभिव्यक्तिबारे प्रष्ट पार्दै उनले भने, ‘म पहिलो चोटी जाँदाखेरी पोखरामा प्रेस मिट भएको थियो ।

वाइ द वे एउटा पत्रकारले सोध्यो, ‘यो संघीयताको लागि तपाई पोखरामा बसेर लडेको मान्छे, अहिले संघीय सरकारमा हुनुहुन्छ । संघीयता कार्यान्वयनका लागि बारम्बार उठ्ने गरेको दुई वटा प्रश्न छ ।

निजामति ऐन र प्रहरी ऐन किन नल्याएको ?’ भनेर प्रश्न गरेको थियो । मैले म, प्रधानमन्त्री र सरकारमा रहेका अरु मन्त्रीहरुको पनि त्यहाँ कमजोरी छ । यसको अतिरिक्त प्रहरीका ठूला–ठूला हाकिमहरुले यो राष्ट्रिय सुरक्षाको कुरा हुन्छ ।

हामी यो प्रहरीलाई प्रदेश–प्रदेशमा कहाँ बाँड्न सक्छौं ? यो हामी कार्यन्वयन गर्न सक्दैनौं भनेर उहाँले एउटा सेमिनारमा भनेको मैले सुनेको थिएँ ।

सरकारको नुनपानी खाएर सरकारले ल्याउन चाहेको व्यवस्थाको विरुद्धमा कसैले बोल्न पाउँछ ? बोल्न हुँदैन थियो, बोले । मैले बिम्बात्मक शब्दको प्रयोग गरेको थिएँ ।

संविधान, सरकार र व्यवस्थाको विरुद्धमा बोल्न हुँदैन थियो । मैले बिम्बात्मक शब्द प्रयोग गरेको है । त्यस्ता हाकिमहरुको जिब्रो थुत्नुपर्छ भन्दिएँ मैले । त्यो त यति भाइरल भयो कि मानौं पृथ्वीसुब्बा गुरुङले सनासोले जिब्रो नै तानेजस्तो कुरा गरेको रुपमा रुपान्तरित भयो ।’

प्रकाशित मिति: Dec 1, 2024

प्रतिक्रिया दिनुहोस्