Logo
२६ पुस २०८१, शुक्रबार
(November 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिचानवादीसँग वार्ता गर्न कोशी सरकारलाई दुई दलीय संयन्त्रको सुझाव

विराटनगर । एमाले र कांग्रेसबीच कोशी प्रदेशमा बनेको सरकार सञ्चालनका लागि सुझाव दिन बनेको दुई दलीय संयन्त्रले कोशी प्रदेशमा पहिचान पक्षधरसँग वार्ता गर्न सरकारलाई सुझाव दिएको छ ।

आज बसेको दुई दलीय संयन्त्रको बैठकले तत्काल आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति बनाउन सुझाव दिएको हो । कोशी नामकरणपछि यहाँ पहिचान पक्षधरहरू असन्तुष्ट छन् ।

यस्तै ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा केवल कार निर्माण सुरु भएपछि यसको विरोधमा पनि आन्दोलन सुरु भएको छ । दुवै आन्दोलनको नेतृत्व पहिचान पक्षधरहरूले गर्दै आएकाले वार्ताका लागि समिति बनाउन सुझाव दिएको नेकपा एमाले स्थायी कमिटी सदस्य तथा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले बताए ।

दुई दलीय संयन्त्रको बैठकपछि पत्रकारसँग बोल्दै राईले वार्ता र संवादबाट मात्रै समस्याको समाधान हुने भएकाले आन्दोलनरत पक्षसँग छिटो भन्दा छिटो वार्ता गर्नुपर्ने बताए । प्रदेशको नामकरण पछि उत्पन्न भएको विवाद पछि प्रदेश नम्बर १ पुन: नामकरण संयुक्त सङ्घर्ष समितिले आन्दोलन गर्दै आएको छ ।

यसअघि बनेका प्रदेश सरकारसँग भएको वार्तापछि केही मत्थर भएको पहिचानको आन्दोलन पुन सुरु भएकाले वार्ता समिति बनाउन सुझाव दिएको नेपाली कांग्रेस कोशी प्रदेश तथा संयन्त्रका सदस्य उद्धव थापाले बताए ।

उनले भने, ‘असन्तुष्ट पक्षसँग वार्ता गर्नका लागि समिति बनाउन भनेका छौं सो समितिले केवल कार निर्माणका विषयमा भएको आन्दोलनरत पक्षसँग समेत वार्ता गर्ने छ ।’

उनले सरकारले दुई दलीय संयन्त्रलाई वार्तामा मध्यस्थता गर्ने बताए । उनले वार्ता र संवादको आवश्यकता भएकाले तत्काल वार्ता समिति बनाउन सुझाव दिएको बताए ।

‘दुई दलीय संयन्त्रले कोशी प्रदेश सरकारले सुरु गरेका तर काम सम्पन्न नभएका योजनाहरू सम्पन्न गर्नका लागि सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ । कतिपय योजनाहरू बजेट अभावमा रोकिएका छन् ,’संयन्त्रका अध्यक्ष समेत रहेका शेरधन राईले भने, ‘बजेट अभाव भएका योजना सम्पन्न गर्न सङ्घीय सरकारसँग हामी माग गर्छौ । बजेट भएर पनि ठेकदारले काम नगरेका योजनाहरू सम्पन्न गर्न सरकारलाई सहजीकरण गर्छौं ।’

उनले कोशी प्रदेश सरकारले सम्पन्न गर्न लागेको विभिन्न कामलाई पुरा गर्न पनि दुई दलीय संयन्त्रले सहयोग गर्ने बताए । प्रदेश सरकारले पर्यटन वर्ष २०८२ शुृरु गर्दै छ । सो कार्यक्रम प्रदेशको विकास र समृद्धिको कोशे ढुङ्गो साबित हुने भएकाले सरकारले गर्न लागेको कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने निर्णय गरेको बताए ।

उनले प्रदेश सरकाले गर्न लागेको लगानी सम्मेलनलाई सफल बनाउन समेत संयन्त्रले सहजीकरण गर्ने बताए । उनले भने, सरकारले गर्न लागेका कामहरूमा केही विवादहरू भए र काममा अप्ठ्यारो भए दुई दलीय संयन्त्रले सहयोग गर्ने निर्णय गरेको बताए ।

एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले सरकारलाई सहयोग गर्न नै संयन्त्र बनेकाले सरकारलाई आवश्यक परेका स्थानमा दुई दलीय संयन्त्र खडा हुने बताए । उनले कोशी प्रदेश सरकारले बनाएको बजेट समेत संशोधन गरेर जाने निर्याण भएको जानकारी दिए ।

प्रकाशित मिति: Nov 29, 2024

प्रतिक्रिया दिनुहोस्