Logo
२४ पुस २०८१, बुधबार
(November 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरखामा अन्तरजातीय विवाह गर्ने १९ जोडी सम्मानित

१२ मंसिर, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलितबीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए ।

‘कानुनले जातीय विभेदलाई पूर्णरुपमा बर्जित गरेको भएपनि हाम्रो समाजमा अझै पनि दलित र गैह्रदलितबीच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन्, उनले भने, ‘यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलितबीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।’

पालिका भित्रका सबै वडामा दलित र गैह्रदलितबीच विवाह भएका जोडीको विवरण संकलन गरेर एक कार्यक्रमबीच मंगलबार उनीहरूलाई सम्मान गरिएको उनले जानकारी दिए ।

‘अन्तरजातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु पनि कार्यक्रमको अर्को उद्देश्य हो,’ उनले भने, ‘यसवाट अन्तरजातीय विवाह गर्नेलाई हौसला प्रदान हुनेछ भन्ने ठानेका छौं ।’

दलित र गैह्रदलितबीच विवाह भएका दम्पतीको आर्थिक अवस्थाको हेरेर प्रोत्साहनका लागि पालिकाले सिपमुलक तालिम उपलब्ध गराउने योजना पनि बनाएको गाउँपालिकाका प्रशासकीय अधिकृत रुलबहादुर आलेले बताए ।

‘दीर्घकालीन रुपमा उहाँहरूले लाभ लिनसक्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि पालिकाले बनाएको छ,’ उनले भने, ‘यसले जीवनयापनका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ ।’

प्रकाशित मिति: Nov 27, 2024

प्रतिक्रिया दिनुहोस्