Logo
२५ पुस २०८१, बिहीबार
(November 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महानगरको स्वास्थ्य कार्यक्रम : निःशुल्क भिडियो एक्सरे

१२ मंसिर,काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि निःशुल्क भिडियो एक्सरे सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागु भएका वडाका स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवा सुरु गर्न लागेको हो । सुरुवातमा वडा नम्बर १२, २६ र ३० बाट सेवा दिइने छ ।

आइतबार र सोमबार वडा नम्बर १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नम्बर १२, मंगलबार र बुधबार १६, २६ र २७ का सेवाग्राहीका लागि २७ तथा बिहीबार र शुक्रबार १० र ३० का सेवाग्राहीका लागि वडा नम्बर ३० स्वास्थ्य प्रवद्र्धन केन्द्रमा भिडियो एक्सरे गरिने महानगरले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागु भएका सबै वडामा भिडियो एक्सरे मेसिन राखिएको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना छ ।

महानगरले वडा नम्बर ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, १४ बल्खु, १९ कंकेश्वरी, २६ लैनचौर, ३० ज्ञानेश्वर, १६ बालाजु, २७ महाबौद्ध, १२ टेकु र ७ चाबहिलको स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई पहिलो सम्पर्क बिन्दुका रूपमा तोकेको छ । यीमध्ये ५ बीमा बोर्डबाट अनुमोदन भइसकेका छन् भने ५ वटा अनुमोदन प्रक्रियामा छन् ।

नसर्ने रोग पहिचान गर्न जाँच

स्वास्थ्य विभागले नसर्ने खालका रोग पहिचानका लागि मधुमेह, उच्च रक्तचाप र दीर्घ मिर्गौला रोगको जाँच सुरु गरेको छ । मंगलबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले एकल सेवा केन्द्रमा रक्तचाप जाँच गरेर कार्यक्रम थालनी गरेका हुन् ।

स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार निदानात्मक स्वास्थ्य सेवा प्रवद्र्धनका ५० हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरेर अवस्था आकलन गर्ने तथ्यांक तयार पार्ने र त्यसले देखाएको अवस्थाका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने महानगरको योजना छ ।

विभागले हरेक महिनालाई सचेतना अभिवृद्धि गर्ने विशेष महिनाका रूपमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम अन्तर्गत गत वैशाखमा दृष्टि (आँखा तथा वातावरण), जेठमा मुख तथा नाक, कान, घाँटी, असारमा जेष्ठ नागरिक तथा अपाङ्गता सहायता, साउनमा नवजात र बालबालिका स्वास्थ्य, पोषण तथा स्तनपान, भदौमा उच्च रक्तचाप, असोजमा मधुमेह तथा मोटोपना र कात्तिकमा स्वस्थ्यकर खानपान तथा आरोग्य जीवन सचेतना महिनाका रूपमा निदानात्मक कार्यक्रम सञ्चालन भएका छन् ।

मंसिरमा मिर्गौला तथा अन्य जटिल दीर्घरोग, पुसमा श्वाशप्रश्वास तथा अन्य जटिल दीर्घ रोग, माघमा पादकपदार्थ तथा सडक दुर्घटना, फागुनमा क्यान्सर तथा प्रजनन स्वास्थ्य र चैतमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछन् ।

७१ प्रतिशत मृत्युदर नसर्ने रोगले

जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९÷८० को संघीय स्वास्थ्य विभाग प्रतिवेदनले ७१ प्रतिशत मृत्यृदरको कारण नसर्ने रोग देखाएको छ । यसमा क्यान्सर, मिर्गौला सम्बन्धी दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप मुख्य हुन् ।

व्यक्तिले नसर्ने रोगको उपचारका लागि ३७ प्रतिशत ‘आउट अफ पकेट एक्स्पेन्डिचर’ (ओओपी) खर्च गरिरहेको छ । समयमा रोगका विषयमा जानकारी प्राप्त गर्न सकियो भने यो खर्च घटाउन सकिन्छ ।

रोगले समस्या सिर्जना गरे उपचारमा जानुप¥यो भने सुरुमै धेरै खर्च लाग्छ । त्यसपछि पनि औषधिमा नियमित खर्च गर्नुपर्छ । व्यक्ति र परिवारको उत्पादनशीलता घट्छ । यसकारण नसर्ने रोगले सिर्जना गर्ने खर्च घटाउन निदानात्मक र प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक छ ।

जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य बीमा

स्वास्थ्य विभागले मंसिर मसान्तभित्र महानगरका जनप्रतिनिधि र कर्मचारीको बीमा दर्ता गरिसक्ने योजना बनाएको छ । त्यसका लागि दर्ता सहयोगीलाई अभिमुखीकरण प्रदान गरेको छ ।

मंसिरमा दर्ता सकिएपछि फागुनबाट कार्यक्रम कार्यान्वयनमा आउने महानगर स्वास्थ्य विभागले जनाएको छ । महानगरभित्र अहिले १ लाख परिवार दर्ता छन् । यसमा करिब ४ लाख व्यक्ति समेटिन्छन् । बीमा कार्यक्रम सुरु भएका वडामा बिरामीको चाप बढ्दै गएको छ ।

महानगरले पुस २०८० मा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य बीमा बोर्डसँग समझदारीपत्रमा हस्ताक्षर गरेर कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

प्रकाशित मिति: Nov 27, 2024

प्रतिक्रिया दिनुहोस्