Logo
२७ पुस २०८१, शनिबार
(November 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान्–श्रीमती र छोराछोरीको उपचार खर्च पनि बेहोर्ने

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान्–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरूले समेत स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।

मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित समारोहमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सो कुराको जानकारी गराएका हुन् ।

अधिकारीले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान्–श्रीमती र १८ वर्ष नकटेका  छोराछोरीहरूका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिए ।

उनले कोषमा सोमबारसम्म औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आबद्ध भएको जानकारी गराउँदै आबद्ध हुने श्रमिकको संख्या निरन्तर वृद्धि भइरहेको बताए ।

उनले कोषले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबी बापत कोषले ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको बताए ।

उनले कोषको दायरा बिस्तारका लागि कोषको केन्द्रीय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगन्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको समेत जानकारी दिए ।

यही आर्थिक वर्षभित्र कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको बताउँदै सात वटै प्रदेशमा कोषको भौतिक उपस्थिति सुनिश्चित गर्ने उनको भनाइ छ ।

उनले भने,‘पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अहिले उनीहरूका श्रीमान्, श्रीमती र १८ वर्ष नकटेका छोराछोरीहरूले समेत अहिले उपचार थप गरिएको ब्यहोरा जानकारी गराउँदछु ।

कोषको दायरा बिस्तारका लागि कोषको केन्द्रीय कार्यालयका अतिरिक्त विराटनगर, सिमरा, बुटवल, नेपालगन्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको छ ।

यसै आर्थिक वर्षभित्र कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा समेत कार्यालय स्थापना गर्ने योजना रहेको छ । जसले गर्दा सात वटै प्रदेशमा कोषको भौतिक उपस्थिति सुनिश्चित हुनेछ ।

अधिकारीले कोषमा हालसम्म अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालको संख्या ९० रहेको बताए । उनले कोषका सम्पूर्ण सेवाहरूलाई अनलाइन प्रक्रियामा लैजाने प्रक्रिया अन्तिम चरणमा रहेको पनि बताए ।

प्रकाशित मिति: Nov 26, 2024

प्रतिक्रिया दिनुहोस्