मेडिसिटी अस्पतालले मिर्गौला गायब बनाएको आरोप, चिकित्सक भन्छन् : त्रुटि भएको छैन
ललितपुर भैंसेपाटीको मेडिसिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका इलामका ३८ वर्षीय सरोज सुब्बा (लिम्बू)को उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरबाही गरेको आरोप लगाएका छन् ।
सुब्बाको ६ असोजमा मेडिसिटी अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण गरेको एक हप्तापछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए ।
डिस्चार्ज भएको केही दिनपछि सरोजको स्वास्थ्यमा समस्या देखिन थाल्यो । हप्ता–हप्ता दिनमा फलोअप उपचार गराउँदै आएका सरोजको १ मंसिरमा मृत्यु भएको थियो ।
तर आफन्तले भने चिकित्सकले परिवारसँग परामर्श नै नगरी सरोजको शरीरबाट मिर्गौला झिकेको भन्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
मृतकका आफन्त कुमार राईले सरोजको फलोअप उपचारका क्रममा चिकित्सकले आफूहरुलाई जानकारी नै नदिई शरीरबाट मिर्गौला झिकेको बताए ।
‘उहाँ तीन–चार पटक फलोअपमा आउनुभयो । त्यसबेला चिकित्सकले इन्फेक्सन भयो भनेर मिर्गौला निकालेका रहेछन्’, राईले प्रश्न गरे, ‘प्रत्यारोपण गर्दा भिडियो रेकर्डदेखि परिवारको सही सबै चाहिने, तर निकाल्दादेखि केही परामर्श गर्नुपर्दैन ?’
उनले अगाडि भने, ‘कसरी मिर्गौलामा इन्फेक्सन भयो ? केही जानकारी दिएको छैन । अस्पताल प्रशासनले मिर्गौला नै गायब बनाएको छ, जबसम्म हामीलाई चित्तबुझ्दो जवाफ आउँदैन लास बुझ्दैनौं ।’
मिर्गौला गायब बनाएको आरोप
इलामको चुलाचुली गाउँपालिका वडा–४ का लिम्बू गाउँमै खेतीपाती गर्थे । उनका श्रीमती र दुई छोरा छन् । करिब एक वर्ष अगाडि झापाको बीएण्ड सी मेडिकल कलेजमा स्वास्थ्य परीक्षण गराउँदा मिर्गौलामा समस्या देखिएपछि चिकित्सकले मेडिसिटी अस्पतालमा जाँच गराउन सुझाव दिए ।
मेडिसिटी अस्पतालका चिकित्सकको परामर्श अनुसार नै ६ असोजमा मिर्गौला प्रत्यारोपण भयो ।
आफन्तका अनुसार प्रत्यारोपण गरेको केही दिनकै अन्तरालमा पिसाबबाट रगत जाने, आँखा नदेख्ने, खुट्टा राम्रोसँग टेक्न नसक्ने जस्ता समस्या देखिन थाल्यो । लिम्बु हरेक हप्ता फलोअप उपचारका लागि अस्पताल गइरहे । तर उनको स्वास्थ्य समस्या झन् झन् बढ्दै गयो ।
आफन्तका अनुसार २१ कात्तिकमा अस्पताल पुगेका लिम्बूको मिर्गौलामा इन्फेक्सन देखिएको भन्दै चिकित्सकले प्रत्यारोपण गरेको मिर्गौला शरीरबाट बाहिर निकालेका थिए । त्यस समयमा उनकी श्रीमती मात्रै अस्पतालमा थिइन् ।
मिर्गौलामा के कारणले इन्फेक्सन भयो भन्ने रिपोर्ट अस्पतालले नदिएको आफन्तको दाबी छ ।
‘राम्रोसँग परामर्श नगरी मिर्गौला झिकिएको रहेछ’, मृतकका आफन्त राई भन्छन्, ‘त्यो मिर्गौला अस्पतालले हामीलाई अहिलेसम्म देखाइएको छैन ।’
त्यसपछि लिम्बूले अस्पताल नजिकै डेरा लिएर डायलाइसिस गर्न थाले । तर ३० कात्तिकमा लिम्बूको एक्कासी स्वास्थ्य समस्या देखियो । परिवारले राति ३ बजे मेडिसिटी अस्पताल पुर्याए ।
तर उनको उपचार प्रक्रिया सुरू नभएको आफन्तको आरोप छ ।
‘धेरै जना विशेषज्ञले छलफल भएपछि मात्रै उपचार सुरू हुने भन्दै राति ३ बजे पुगेको बिरामीलाई बिहान ११ बजे आईसीयूमा लैजानुभयो’, राई भन्छन् । तर उपचारको क्रममा १ मंसिरमा लिम्बुको मृत्यु भयो ।
‘उहाँहरुले कि त गल्ती गर्नुभयो, कि मिर्गौला बेचेर खानुभएको छ’, राई भन्छन्, ‘अस्पतालले सहमति गरौं भन्दै आएको छ । हामीलाई चित्तबुझ्दो जवाफ र उचित क्षतिपूर्ति नपाएसम्म लास उठाउँदैनौं ।’
उनको उपचारमा करिब झण्डै २५ लाख रुपैयाँ खर्च भएको आफन्तको भनाइ छ ।
चिकित्सक भन्छन् : त्रुटि भएको छैन
उपचारमा संलग्न चिकित्सकले भने आफन्तले लगाएको आरोप गलत भएको दाबी गरे । मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले सफलतापूर्वक प्रत्यारोपण भएको बताउँछन् ।
‘मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्य अवस्था सामान्य भएपछि बिरामीलाई घर पठाइयो । बेला–बेलामा फलोअपमा आउनुभयो’, उपचारमा समलग्न चिकित्सक काफ्ले भन्छन्, ‘एक्कासी मिर्गौलाबाट रगत बन्न थाल्यो । मिर्गौला जोडिएको नली फुल्दै गयो ।’
उक्त नली अपरेशन गरेर जोगाउन खोज्दा सम्भव नभएको उनले बताए । डा. काफ्लेका अनुसार रगत लैजाने नलीलाई काटेर मिलाउन सम्भव नभएपछि प्रत्यारोपण गरिएको मिर्गौला निकाल्नुपरेको हो ।
बिरामीको ज्यान जोगाउने विकल्पको रुपमा मिर्गौला निकाल्न परिवारकै सदस्यसँग परामर्श भएको उनले दाबी गरे ।
‘नली फुटेर रगत बगिरहेको थियो । मिर्गौला ननिकाल्दा ज्यान जाने अवस्था आयो’, डा. काफ्लेले अनलाइनखबरसँग भने, ‘बिरामीलाई बचाउनका लागि पनि हामीले मिर्गौला निकाल्ने निर्णय गरौं ।’
त्यसपछि बिरामीको डायलाइसिस प्रक्रिया सुरू भयो । तर बिरामीको इन्फेक्सन शरीरभर फैलिएको र उपचारका क्रममा बचाउन सम्भव नभएको डा. काफ्लेले बताए ।
‘पेटमा सिभियर इन्फेक्सन भएर बिरामी अस्पताल आउनुभयो । आईसीयूमा राखेर उपचार गरियो । तर बिरामीलाई बचाउन सकिएन’, डा. काफ्ले भन्छन् ।
उनले भने, ‘उपचारमा लापबाही, त्रुटि केही भएको छैन । उपचार सही समयमा भयो, जे गरियो ठीकसँग गरियो, अहिले घटनालाई मानवीयताको रुपमा मोड्न खोजियो ।’
प्रत्यारोपण गरेको व्यक्तिको पनि संक्रमण भएमा मृत्यु हुनसक्ने डा. काफ्लेले बताए । ‘त्यसबेला परामर्श गर्दाको मानिस अहिले छैन । अहिले अञ्जानका मानिस आएर आन्दोलन गरिरहेका छन्’, उनले भने ।
मिर्गौला प्रत्यारोपणमा हुने दुर्लभ समस्या लिम्बूमा देखिएको डा. काफ्लेको भनाइ छ । ‘उहाँहरुलाई लापरवाही लागेको खण्डमा कानुनी प्रक्रियामा जान सक्नुहुन्छ’, डा. काफ्ले भन्छन् ।