राप्रपा र राप्रपा नेपालको चुनावी तालमेलपछि कमल थापाको प्रतिक्रिया- स्याबास मकवानपुर !
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृहजिल्ला मकवानपुरमा मंसिर १६ गते हुने उपनिर्वाचनमा राप्रपालाई सहयोग गर्ने भएको छ।
हेटौंडा उपमहानगरपालिका-१२ को वडा अध्यक्ष पदमा राप्रपाका उम्मेदवार प्रेम लामा भ्लोनलाई राप्रपा नेपालले सहयोग गर्ने भएको हो।
राप्रपा नेपालले आफ्नो पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गर्नु स्वागतयोग्य रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।
उनले भनेका छन्, ‘समान विचार भएका मित्र शक्तिलाई साथ र समर्थन दिनु राजनीतिक धर्म हो। विगतका निर्वाचनहरूमा समान विचार भएका दल र समूहबाट आफ्नो उम्मेदवार पनि नउठाउने, फरक विचारका उम्मेदवारलाई मत दिने, राप्रपाका उम्मेदवारलाई मात्रै पराजित गर्नका लागि डमी उम्मेदवार बन्ने, बनाउने, भोट काट्ने र परिणाम राप्रपाको विपक्षमा पार्न भूमिका खेल्ने जस्तो जघन्य अपराध पनि भएका छन्।’
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र समान विचार भनिनेहरूको गलत रणनीतिको सिकार भएको दृष्टान्त उल्लेख गरेका छन्।
उनले थपेका छन्, ‘अब यस्तो हुने छैन भन्ने अपेक्षा गर्दछौँ, यस पटक हेटौँडामा मात्रै होइन, स्थानीय तहको उपनिर्वाचन भएका ठाउँहरूमा राप्रपाका उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन्। समान विचार भएका दल, व्यक्ति र समूहले गम्भीरतापूर्वक सोचुन्।’
त्यसो त राप्रपा नेपालका अध्यक्ष थापाले पनि उपचुनावमा राप्रपा नेपाल र राप्रपाबिच सहकार्य गर्ने निर्णय सकारात्मक भएको बताएका छन्।
स्याबास मकवानपुर भन्दै फेसबुकमा लेखेका छन्, ‘समान विचारधारा भएका राष्ट्रवादी शक्तिहरूका बिच एकता र सहकार्यको आवश्यकता रहेको वर्तमान अवस्थामा मकवानपुरले राम्रो सन्देश दिएको छ। साझा उम्मेदवार जिताउन सबैलाई आह्वान गर्दछु।’
भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण वर्तमान समयको आवश्यकता भएको उल्लेख गरेका छन्।
गएको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी फोडेर हिँडेका थापा पछिल्लो समय फेरि एकताको मनस्थितमा अघि बढेको चर्चा छ।