Logo
१२ माघ २०८१, शनिबार
(November 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुम्लामा आफ्ना उम्मेदवार अपहरण भएको रास्वपाको दाबी, प्रहरी भन्छ- उहाँ घरमै हुनुहुन्छ

२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हुम्लाको सर्केगाड गाउँपालिकामा आफ्नो उपाध्यक्ष पदका उम्मेदवारलाई अपहरण गरिएको दाबी गरेको छ ।

पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्ना उम्मेदवार सुजाता थापालाई उम्मेदवारी नदिन धम्क्याएको भन्दै आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

रास्वपाका अनुसार थापाले उम्मेदवारी मनोनयन दर्ताको तयारी गरिरहेका बेला शनिबार दिउँसो १ बजेतिर अपहरणको शैलीमा अज्ञात स्थलतर्फ लगिएको थियो ।

‘निज सुजाता थापा र उहाँको श्रीमान् बल थापालाई करिब ४०–४५ जना युवाहरुको समूहले घरबाट लछारपछार गर्दै अपहरणको शैलीमा अज्ञातस्थलतर्फ लिएर गएको र त्यसलगत्तै गाउँमा खैलाबैला भएको थियो’, कार्यबाहक महामन्त्री थापाले भनेका छन्, ‘यो कुरा थाहा पाएलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइएको थियो ।’

पत्रमा रास्वपाका उम्मेदवार र उनको परिवारलाई त्यसरी अपहरण शैलीमा अज्ञात स्थलमा लछारपछार गरेर उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुनसक्ने भन्दै यातना दिइएकाले थापा र उनको परिवार मानसिक तनावमा देखिएको भनिएको छ ।

हालसम्म असुरक्षाका कारण थापा उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुगेको रास्वपाको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रमुख डीएसपी रवीन्द्र खनालले भने उनलाई अपहरण गरिएको पुष्टि नभएको बताए । ‘यो विषय बाहिर आइसकेपछि प्रहरीले पनि उहाँसँग सम्पर्क गरेको थियो, त्यसक्रममा सीडीओ सा’ब र मसँग पनि उहाँले कुरा गर्नुभयो’, खनालले अनलाइनखबरसँग भने, ‘त्यसक्रममा उहाँले आफूहरु सहमतिमै गएको बताउनुभएको छ ।’

आइतबार दिउँसो फोनमा सम्पर्क गर्दा पनि थापाले आफू श्रीमान्सँगै घरमा रहेको जानकारी गराएको प्रहरीले जनाएको छ । ‘बाहिर अरु सूचना आइरहेकाले भेरिफाइ गर्न महिला प्रहरीसहितको टोली भेट्न पठाएका थियौं’, उनले थपे, ‘त्यसक्रममा उहाँले सल्लाहले हिँडेको बताउनुभयो भने त्यहीँबाट टोलीले सीडीओ सा’ब र मसँग कुरा गराएको थियो ।’

आफूहरुले समाचारहरुमा अपहरण गरिएको भन्ने आएकाले के हो भन्ने सोध्दा थापाले त्यस्तो नभएको बताएको खनालले जानकारी दिए ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पनि आफूले थापासँग कुरा गरेको भन्दै अपहरणमा परेजस्तो नलागेको बताए ।

‘उहाँले आफ्नो पारिवारिक पृष्ठभूमि पनि बताउनुभयो, उहाँका ससुराबुबा नेपाली कांग्रेस ४ नम्बर वडाको वडा सभापति हुनु हुँदोरहेछ’, सीडीओ पाण्डेयले भने, ‘यस्तोमा साथीहरुले परिवर्तन गराउने इच्छा राख्नुभएको होला, तर म आफ्नै घरमा स्वतन्त्र हिसाबले बसिरहेको छु भन्नुभएको छ । मैले हिजो र आज दुवै पटक उहाँसँग कुरा गरेको छु ।’

सर्केगाड गाउँपालिकामा यसअघि निर्वाचित उपाध्यक्ष चन्द्र सिंह कार्कीको ८ भदौ २०८१ मा सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार थिए ।

रिक्त रहेको पदमा उपनिर्वाचनका लागि आइतबार साँझ ५ बजेसम्म मनोनयन दर्ता हुँदैछ ।

प्रकाशित मिति: Nov 17, 2024

प्रतिक्रिया दिनुहोस्