Logo
११ पुस २०८१, बिहीबार
(November 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति पौडेल अजरबैजानमा

 राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज यहाँ आइपुगेका छन् ।

राष्ट्रपति पौडेललाई अजरबैजानस्थित हैदर अलीएभ अन्तराष्ट्रिय विमानस्थलमा अजरबैजानका  न्याय मन्त्री फरिद अहमदोले स्वागत गरे ।

भेटका क्रममा  राष्ट्रपति पौडेलले अहिलेको विश्वको समस्या नै जलवायु परिवर्तन भएको र यो सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिवद्धता प्रकट गरेको रकम लगानी गर्न विकासशील देश प्रेरित गर्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्री अहमदोले अहिलेको सम्मेलनको मुख्य विषय नै त्यही भएको उल्लेख गर्दै विकाशसील देशमाथि न्याय गरिनुपर्ने बताएका थिए । उनले अजरबैजानमा नेपालका जस्ता पहाड नभए पनि यहाँका हिमाल पग्लिएर  पानीको स्रोत सुकेको जानकारी दिए ।

यही कात्तिक २६ गतेबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै बाकु आइपुगेका हुन् ।

कोप –२९ अन्तर्गतको सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ । यही कात्तिक २६ गतेबाट शुरु हुने सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ ।

सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।

 

प्रकाशित मिति: Nov 11, 2024

प्रतिक्रिया दिनुहोस्