Logo
७ पुस २०८१, आईतबार
(November 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कंकालिनी नगरपालिकामा शिक्षक र कर्मचारीले लगाए ताला

२६ कात्तिक, जनकपुरधाम । तलब भत्ताको माग गर्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयमा शिक्षक र कर्मचारीले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि हालसम्म तलब भत्ता उपलब्ध नगराएको भन्दै आइतबार शिक्षक र कर्मचारीहरूले कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेका हुन् ।

आइतबार उनीहरुले कार्यालय अगाडि धर्ना समेत दिएका छन् ।

मेयर, उपमेयर, र प्रमुख प्रशासनिक अधिकृतसँग पटक-पटक मौखिक र लिखित रूपमा तलब भत्ताका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवले बताए ।

दशैं, तिहार र छठ जस्ता प्रमुख पर्वहरूमा पनि तलब भत्ता नपाउँदा शिक्षक र कर्मचारीहरुलाई परिवार पाल्न समेत कठिन भएको उनको भनाइ छ ।

शिक्षकहरूले गत कात्तिक ६ गते नगर प्रमुखलाई तलब भत्ताको मागसहित ज्ञापन बुझाउँदै ६ दिनको अल्टिमेटम दिएका थिए । तर, कुनै ध्यान नदिएपछि कात्तिक ११ गतेदेखि उनीहरुविद्यालय बन्द गरी धर्ना सुरु गरेका थिए ।

धर्ना पनि बेवास्ता भएपछि तालाबन्दीमा जान बाध्य भएको उनीहरुले बताएका छन् । यस नगरपालिकाको चालू आर्थिक वर्ष २०८१/८२ को नगरसभा हुन नसक्दा कुनै आर्थिक कारोबार हुन सकेको छैन ।

प्रकाशित मिति: Nov 11, 2024

प्रतिक्रिया दिनुहोस्