Logo
७ पुस २०८१, आईतबार
(October 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तनहुँमा उत्पादित सयपत्री कतार निर्यात

आँबुखैरेनी गाउँपालिका- १ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ। पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका १५० किलो सयपत्री दोहा पठाइएको हो।

याञ्चोकटारका महिलालाई अहिले फूल टिप्न भ्याइनभ्याइ छ। समूहकी अध्यक्ष सुन्तली गुरुङसहित समूहमा आबद्ध ७० महिला माला गाँस्न व्यस्त छन्। समूहले गतवर्षदेखि सयपत्री कतार निकासी गर्न थालेको हो। गत वर्ष दुई लाख ५० हजार बराबरको सयपत्री निकासी गरेको अध्यक्ष गुरुङले जानकारी दिइन्। यो वर्ष ८ लाख बराबरको फूल निर्यात गर्ने लक्ष्य रहेको उनको भनाइ छ।

आँधीमूल महिला समूह र याञ्चोक महिला समूह एकआपसमा गाभिएर फूलखेती प्रारम्भ भएको हो । गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराए पछि महिला व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएका आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए।

समूहले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा गाउँपालिका कार्यालयले सहजीकरण गर्दै आएको छ। ‘आज र भोलि आँबुखैरेनी गाउँपालिकाभित्रका १२ स्थानमा बिक्री स्थल बनाइनेछ’, महिला सशक्तीकरण पालिकाको प्राथमिकता भएको बताउँदै उनले भने ‘केही माला तयार गरी कोल्डस्टोरमा राखिएको छ।फूलखेतीबाट समूहमा आबद्ध महिला आर्थिकरूपमा पनि सक्षम भएका छन्।

 

प्रकाशित मिति: Oct 30, 2024

प्रतिक्रिया दिनुहोस्