Logo
१८ पुस २०८१, बिहीबार
(October 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र बंगलादेशको फाइनल खेल हेर्न रंगशाला जाँदै प्रधानमन्त्री

काठमाडौं, कार्तिक १४ । प्रधानमन्त्री केपी शर्मा ओली साफ महिला च्याम्पियनसिअन्तर्गत नेपाल र बंगलादेशको खेल हेर्न आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जाने भएका छन् । उनी साँझ साढे ६ बजेदेखि सुरु हुने खेल हेर्न रंगशाला जाने भएका हुन् ।

त्यहाँ प्रधानमन्त्री ओलीले उपाधि चुम्ने टोलीलाई पुरस्कार वितरण गर्नेछन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिन लागेको हो । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । यसअघिका छमध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बङ्गलादेशसँग एकपटक पराजित हुन पुग्यो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो । बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । तत्कालीन समयमा फाइनलमा नेपाल भारतसँग ०–१ गोलअन्तरले पराजित भएको थियो ।

सन् २०१२ मा श्रीलङ्कामा आयोजना भएको दोस्रो संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रह्यो । सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा पनि उपाधि चुम्ने नेपालको लक्ष्यमा भारत बाधक बनेको थियो ।

त्यतिबेला नेपाल भारतसँग ६–० गोलअन्तरले स्तब्ध भएको थियो । सोही संस्करणबाट सावित्री भण्डारी (साम्बा) ले राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले नेपाली टोलीबाट उत्कृष्ट खेल पस्कदै नेपाली खेलप्रेमीको मन जित्न सफल भएकी छिन् ।

सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग १–३ गोलअन्तरले पराजित भएको थियो । सोही संस्करणमा बङ्गलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो ।

सन् २०१६ मा भारतमा भएको चौथो संस्ककरणमा नेपाल सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । त्यसैगरी सन् २०१९ मा नेपालमा नै आयोजना भएको पाँचौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो ।

प्रकाशित मिति: Oct 30, 2024

प्रतिक्रिया दिनुहोस्