Logo
२६ पुस २०८१, शुक्रबार
(October 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंसिरभित्र सबै प्रदेश सम्मेलन सम्पन्न गर्न एकीकृत समाजवादीको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आगामी मंसिरभित्र सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेले हाल कायम रहेको प्रदेश कमिटीलाई सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिए ।

देशभर पार्टी सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन तोकिएको समय सीमाभित्र सम्मेलन सम्पन्न गरी नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण निर्देशन दिइएको उनले बताए ।

साथै पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा रहेको कार्यदलले सबै जनवर्गीय सङ्गठनका प्रदेश इन्चार्ज तोक्न, नेताहरूको कार्यविभाजन, विभिन्न आयोग तथा विभाग गठन गर्न र नेताहरूको अनुभव, योगदान तथा सक्षमताको मूल्याङ्कन गरी नाम प्रस्ताव गर्ने जनाइएको छ ।

कार्यदलमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारी छन् । नेताहरूको क्षमता, विगतका कार्यसम्पादनको मूल्याङ्कन गर्न गठित कार्यदलले जिम्मेवारी हेरफेर तथा साङ्गठनिक कार्यविभाजनको गृहकार्य तथा परामर्श गरिरहेको सचिव पाण्डेले बताए ।

कार्यविभाजन गर्नुअघि पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी नेताहरूको छिट्टै जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरिने जनाइएको छ । समान विचारधारा भएका, कम्युनिष्ट पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको पोलिटब्युरो सदस्य मोहन गौतमले जानकारी दिए ।

कम्युनिष्ट नेता वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादी पार्टीबीच एकीकरणको गृहकार्य भइरहेको, नेता गौतमले जनताको बहुदलीय जनवाद, कार्यकारी तथा प्रत्यक्ष निर्वाचित सरकार प्रमुख जस्ता विषयमा लिखित प्रतिबद्धता माग गरेपछि थप छलफल गरी निष्कर्षमा पुग्ने गौतमले बताए ।

प्रकाशित मिति: Oct 27, 2024

प्रतिक्रिया दिनुहोस्