Logo
६ कार्तिक २०८१, मंगलबार
(October 21, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली रक्षात्मक, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने कुरामा देउवाको असहमति

 सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि राजनीति तातिएको छ। सत्ता गठबन्धनका मुख्य घटक कांग्रेस र एमालेका नेताहरुको सक्रियतासमेत बढेको छ । रवि लामिछानेलाई प्रहरीले ६ दिनको म्याद पाएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । उनी कास्की प्रहरीको हिरासतमा छन् ।

यता, काठमाडौंको राजनीति भने तातिएको छ । रवि पक्राउ गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले दबाब दिएको चर्चा छ । कांग्रेस नेतृत्वको दबाबका बावजुदपनि प्रधानमन्त्री ओलीले लामिछानेलाई पक्राउ गर्न केही ढिलाई गरेकोपनि चर्चा थियो । तर, लामिछाने पक्राउअघि देउवासँग प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सहमति गरेको पनि गाईँगुँई छ ।

यही सन्दर्भमा प्रधानमन्त्री ओलीसँग कांग्रेस सभापति देउवा र महामन्त्री थापाले बालुवाटार पुगेको भेटेका छन् । उक्त भेटवार्तामा कांग्रेस नेतृ एवम् परराष्टमन्त्री डा. आरजु राणापनि सहभागी भएको बताईन्छ । उता, एमालेबाट भने महासचिव शंकर पोख्रेल र उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए ।

बालुवाटारमा देउवालाई भेट्नुअघि प्रधानमन्त्री ओली पार्टीको सचिवालय बैठकमा व्यस्त थिए । सचिवालय बैठकमा ओलीले पछिल्लो राजनीतिक अवस्था जटिल मोडमा पुगेको र सरकार ढाल्नको लागि विभिन्न तत्व लागेकोले एमाले पँक्ति चनाखो हुनुपर्ने धारणा राखेका थिए ।

लामिछाने पक्राउ परेलगत्तै कांग्रेसले नेतृत्वले अध्यादेश ल्याउने विषयमा अड्को थापेको चर्चा सुरु भएको छ । कांग्रेसकै प्रभावशाली नेता डा. शेखर कोइरालाले सरकारले अध्यादेश ल्याएर साना दल विभाजन गरे लोकतन्त्रमा संकट आईपर्ने भन्दै अध्यादेश नल्याउन भनेका छन् ।

शेखर समूहमात्रै नभएर स्वयम देउवापनि अध्यादेश ल्याउन नहुने पक्षमा छन् । माधव नेपालको दल विभाजन गर्नकै लागि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनेगरि दशैंअघि नै गृहकार्य गरेको चर्चा थियो । तर, त्यतिवेला देउवाले प्रधानमन्त्री ओलीको प्रस्ताव सिधै अस्विकार गरिदिएका थिए ।

अहिले रवि लामिछाने पक्राउ परेलगत्तै प्रधानमन्त्री ओलीले फेरि अध्यादेश ल्याउनको लागि सक्रियता देखाएका छन् । आजको बालुवाटारको बैठकमा देउवाले ओलीलाई अध्यादेशको बाटोमा नहिँड्न सुझाएको कांग्रेसनिकट उच्च स्रोतको दाबी छ ।

पार्टीभित्र पनि अध्यादेश ल्याउने विषयमा एकमत नहुने र यही विषयले असन्तुष्टि चुलिनेबारे देउवाले ओलीलाई सचेत गराएको बुझिएको छ । अध्यादेश ल्याउने वा नल्याउने विषयको ओली र देउवाबीचको मतभिन्नताकै कारण सत्ता गठबन्धन संकटमा पर्नसक्नेपनि विश्लेषण सुरु भएको छ ।

प्रकाशित मिति: Oct 21, 2024

प्रतिक्रिया दिनुहोस्