Logo
६ कार्तिक २०८१, मंगलबार
(October 20, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपा र सहकारी पीडित पोखरामा आमनेसामने हुँदै, सुरक्षा व्यवस्था कडा

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई कारबाहीको माग गर्दै सूर्यदर्शन सहकारी पीडितले आज पोखरामा प्रदर्शन गर्ने भएका छन् ।

पोखराका सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग र न्यायको दबाब स्वरूप आज पोखरामा प्रदर्शन गर्ने भएका हुन् । सहकारी पीडित सङ्घर्ष समितिको नाममा सूचना पोस्ट गरेर प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ ।

रास्वपाका नेता कार्यकर्ताहरूले आफ्नो प्रदर्शनलाई स्वतन्त्र नागरिकहरूको प्रदर्शन भनेपछि सहकारी पीडितहरूलाई पनि अन्य पक्षले साथ दिन थालेका छन् । उनीहरुले आज राष्ट्रबैंक चोकमा ११ बजे प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् ।

रास्वपाले आफ्ना सभापति रवि लामिछानेको बचाउमा मानवअधिकार चोकमा शनिबार प्रदर्शन गरेको थियो । आज पनि प्रदर्शन हुने रास्वपाले जनाएको छ । रास्वपाका नेता र सहकारी पीडित आमनेसामने हुने भएपछि पोखरा आसपासको सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

राष्ट्र बैंक चोकदेखि शहीद चोक, कास्की जिल्ला अदालतसम्म बाक्लो संख्यामा सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । उलाई आज म्याद थपका लागि अदालतमा लगिँदै छ ।

काठमाडौंबाट शुक्रबार पक्राउ गरी पोखरा पुर्‍याइएका लामिछानेलाई आज कास्की जिल्ला अदालतमा लैजान लागिएको हो । प्रहरीले १० बजेपछि अदालत लैजाने तयारी गरेको छ । रविविरुद्ध सहकारी ठगी र संगठित अपराधको अनुसन्धान गर्न भन्दै प्रहरीले अदालतको अनुमति लिएर पक्राउ गरेको थियो ।

रविलाई पक्राउ गरिएको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका छन् । यसैबीच सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ । चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा जनाइएको छ ।

नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘सङ्घीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ’ भनी उल्लेख छ । लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि शुक्रबार काठमाडौँबाट पक्राउ गरेको थियो ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Oct 20, 2024

प्रतिक्रिया दिनुहोस्