Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीले मुहान र पाइप बगाउँदा काभ्रेमा पानीको हाहाकार

२ कात्तिक, काठमाडौं । बाढीले मुहान र पाइपमा क्षति पुर्‍याएपछि काभ्रेका धुलिखेल, बनेपा, पनौती र तेमाल क्षेत्रमा खानेपानीको हाहाकार  भएको छ । असोज ११ र १२ गते आएको बाढीपहिरोले मुहानसहित पानीको पाइप बगाइदिएको छ ।

खानेपानी आयोजनाका मुहान तथा पाइप लाइन क्षतिग्रस्त हुँदा खानेपानी नियमित वितरणमा समेत समस्या हुन थालेको छ । बनेपा, पनौती, धुलिखेलको खानेपानीको मुख्य स्रोत मानिएको पनौती नगरपालिका-१२ कलाती भूमिडाँडामा बाढी र पहिरोले क्षति पुर्‍याएसँगै सदरमुकाम धुलिखेल तथा पनौती र बनेपा नगरपालिकामा खानेपानी संकट देखिन गएको हो ।

पानी वितरणमा समस्या हुँदा दैनिक २४ लिटरभन्दा बढी खानेपानी खपत हुने ठाउँका स्थानीयले अहिले नगरपालिकाबाट वितरण हुने २ लाख लिटर पानीमा चित्त बुझाउन बाध्य छन् । साविक कलाती भूमिडाँडा गाविसको खारखोला ३६ वर्षअघिदेखि वितरण भइरहेको खानेपानीको मुहान र पाइपमा क्षति पुर्‍याएपछि अहिले त्यसका उपभोक्ता व्याकुल छन् ।

त्यस खानेपानी आयोजनाबाट धुलिखेल नगरपालिकाका ३,४,५,६,७ र ८ नं वडामा मात्र दैनिक २४ लाख लिटर पानी वितरण हुँदै आएको थियो । तर अहिले पानी आउन रोकिएपछि तत्काल समस्या समाधान गर्न बनाइएको डिपबोरिङबाट १ लाख लिटर तथा जंगलका विभिन्न स्रोतबाट १ लाख गरेर २ लाख लिटर मात्र पानी वितरण भइरहेको धुलिखेल खानेपानी उपभोक्ता समितिका सचिव श्याम गनेजुले जानकारी दिए ।

खानेपानी अभाव टार्न दैनिक ट्यांकर र दमकलबाट समेत पानी ल्याएर वितरण गरिएको गनेजुको भनाइ छ । बाढीपहिरोले मुहान क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि त्यहाँ स्थानीयले पनि आफ्नो ठाउँका करिब ३ सय घरधुरीलाई पानीको व्यवस्थापन गरेरमात्र लैजान भनेपछि खानेपानी समितिका पदाधिकारी पटक पटक जाँदा पनि पानी जोड्न नसकेको गनेजुले बताए ।

समितिका सचिव गनेजु स्थानीयको माग सम्बोधन गर्न सरकारले नै आवश्यक पहल गरिदिनुपर्ने बताउँछन् । उनले खोनेपानीको मुहान सफा गर्न एक हप्ता लाग्ने तथा पाइपहरु नयाँ फेर्न पर्ने भएकोले काम सुरु गरेको २०/२५ दिनमा धुलिखेलमा पानी ल्याउन सकिने जानकारी दिए ।

स्थानीयले भने खानेपानी ल्याउन कसैले पनि पहल नगरेको गुनासो गर्छन् । साविक कलाती भूमिडाँडा गाविसको खारखोलाबाट ल्याइएको खानेपानी नेपालकै नमुना थियो । उक्त खानेपानी धुलिखेलका ६ वडाका स्थानीय, होटल, धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालय गरी ३५ सय घरधुरीलाई वितरण हुन्थ्यो ।

३६ वर्षअघि त्यस गाविसका विरामीको धुलिखेल अस्पतालमा छुटमा उपचार, निश्चित कोटामा काठमाडौं विश्वविद्यालयमा छुटमा पढाइ तथा वार्षिक १२ लाखका दरले गाविसलाई रकम दिने सम्झौता बमोजिम खानेपानी ल्याइएको थियो ।

उपत्यका एकीकृत खानेपानी मुहान पनि पुरियो

पनौती नगरपालिका-२, बहिरामहादेवमा रहेको काभ्रे उपत्यका एकीकृत खानेपानीको मुहान पुरेको र पाइप पनि बगाएकाले बनेपा क्षेत्रमा खानेपानी समस्या भएको छ ।

बनेपा र पनौतीको बजार क्षेत्रमा खानेपानी वितरण गर्दै आएको खानेपानी संस्थान बनेपाका प्रमुख भुपाल सिं भण्डारीका अनुसार बनेपाको शशिपानी मुहानको मर्मत गरेर पानी ल्याइसके पनि एकीकृत खानेपानीको पानी ल्याउन नसक्दा खानेपानी वितरणमा समस्या भएको बताए ।

भण्डारीले क्षतिग्रस्त मुहान तथा पाइप लाइनको अनुगमन निरीक्षण भइरहेको र क्षतिको विस्तृत विवरणपछि पुनःनिर्माणबारे प्रक्रिया थालिने बताए ।

त्यस्तै ४ सय घरधुरीलाई समेटेर संचालन भएको पस्थली बृहत खानेपानी समेत बाढीले क्षति पुर्‍याएको छ । बेथानचोकगाउँपालिका ४ पाटीखर्कको बेतेखोलाबाट ल्याइएको खानेपानीको मुहान र पाइप बगाउँदा पानीको हाहाकार भएको छ ।

करिब ५ करोड लागतमा ४ सय घरधुरीलाई ल्याइएको खानेपानीको मुहानको इन्टेक तथा ३ किलोमिटर पाइप बगाएको खानेपानी समितिका अध्यक्ष नन्दकुमार कार्कीले जानकारी दिए । उक्त आयोजनाको मुहान निर्माण तथा खानेपानी व्यवस्थापनमा स्थानीय श्रमदानमा जिल्ला खानेपानी कार्यालय तथा पनौती नगरपालिकासँग पाइप मागेर अस्थायी रुपमै भएपनि जडान गर्ने काम भइरहेको बताए ।

आयोजना पूरा नहुँदै क्षतविक्षत्

तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानोपानी खुवाउने उद्देश्यका साथ तेमाल बृहत् सुक्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना संचालनमा छ । २०७२ असारमा सम्झौता भइ २०७७ साल मंसिरमा सक्ने लक्ष्य राखेर निर्माण भइरहेको आयोजना अझै पूरा हुन सकेको छैन ।

साविक तेमालका १० गाविसका ९ हजार ३१० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना संचालनमा ल्याउन लागेको थियो । तर यो पटकको बाढी र पहिरोले समेत क्षति पुर्‍याएको छ

। एक अर्ब २७ करोडको लागतमा सञ्चालन गरिएको आयोजना नेपाल सरकारको ९० प्रतिशत, गाउँपालिकाको एक करोड र स्थानीय उपभोक्ता प्रतिपरिवार एक हजार लगानी छ । बाढीले नदीमा ‘फिल्टर’ गर्न बनाइएको ट्यांकीमा क्षति पुगेको समितिका अध्यक्ष संग्रामजित लामाले जानकारी दिए ।

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाबाट पनि धोका !

काभ्रेका बनेपा, धुलिखेल र पनौती नगरपालिकाका एक लाख ४० हजार जनसंख्यालाई खानेपानी खुवाउने गरी काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना बनिरहेको थियो । धुलिखेल, बनेपा र पनौती नगरपालिकासहित नेपाल सरकारसमेतको लगानीमा बनिरहेको उक्त आयोजना पनि सञ्चालनमा नआउँदै बाढीले भत्काएको छ ।

पनौती नगरपालिका-२, बहिरामहादेव माथि रोशी खोलामा बनाइएको मुहान तथा मुहानदेखि पनौतीको मल्पीसम्मको पाइप बगाएको छ । सन् २०२४ को अन्तिमसम्म खानेपानी पिउने सपना साँचिरहेका उपभोक्ता फेरि निराश बनेका छन् ।

यसअघि पनि उक्त आयोजनामा सघाइरहेको प्रमुख दाता एसियाली विकास बैंकले हात झिकेपछि आयोजना नै अन्यौलमा परेको थियो । खानेपानी आयोजना निर्माणको ठेक्का चिनिँया निर्माण व्यवसायी कम्पनी निम्वो निङसिङ इन्टरनेशनल इंकले पाएको थियो ।

निर्माणको ठेक्का पाएको चाइनिज कम्पनीको सन् २०२० नोभेम्बर ३० बाट म्याद सकिएको थियो । १९ डिसेम्बर २०१२ मा ठेकेदार सँग सम्झौता भएको आयोजनाको ठेकेदारले कामको सुरुवात भने १२ जुन २०१३ मा गरेको थियो ।

कार्य सम्पन्न गर्नुपर्ने मिति १२ जुन २०१५ मा भएपनि हाल सम्म खानेपानीको काम पूरा हुन सकेको छैन । ठेकेदारलाई अन्तिम १२ औं पटक म्याद थपेर सक्नुपर्ने मिति ३० नोभेम्बर २०२० भएपनि ठेकेदारको लापरबाहीले गर्दा अहिले २०२४ हुँदा पनि जनताले खानेपानी खान पाएनन् ।

बोर्डका पदाधिकारीहरुले ९७ प्रतिशत काम सकिएको दाबी गरिरहेकै बखत सम्झौता तोडिँदा खानेपानीको व्यग्र प्रतीक्षामा रहेका उपभोक्ताहरु बढी मारमा परे । २ वर्षमा सक्ने गरी अघि बढेको आयोजना एसियाली विकास बैंकले २०७६ मा हात झिकेको थियो । त्यसबेला निर्माणको मुख्य लगानीकर्ता एडीबीले १२ पटकसम्म म्याद थप्दा पनि सम्पन्न नभएर कामको प्रगति नभएपछि आयोजनाबाटै हात झिकेको थियो ।

पटक–पटकको भेरियसनबाट आयोजनाको लागतमा करिब आधा रकम बढेर भ्याटबाहेक ९९ करोड ८ लाख ७ हजार रुपैयाँ पुगेको थियो । तर अहिले बाढीले क्षति पुर्‍याएपछि लागत झन् बढ्ने निश्चित भएको छ ।

बोर्डका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यान्जू श्रेष्ठले बोर्डका तर्फबाट २०७६ माघ १५ गते जारी प्रेस विज्ञप्ति गर्दै २०७७ जेठभित्र निर्माण पूरा हुने दाबी गरे पनि समयमै निर्माण पूरा नहुँदा उपभोक्ताले पानी पाउन नसकेका हुन् ।

प्रकाशित मिति: Oct 18, 2024

प्रतिक्रिया दिनुहोस्