Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्करसँग सेटिङ मिलाएको आरोप लागेका मोरङका एसपी कार्की हेडक्वार्टर तानिए

विराटनगर । सीमामा घुमुवा प्रयोग गरेर तस्करीको लाइन चलाएको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की हेडक्वार्टर तानिएका छन् ।

उनलाई आजैबाट हेडक्वार्टर तान्ने निर्णय भएको छ । भारतीय सीमा क्षेत्रमा तस्करसँग मिलेर लाइन चलाएको उनीमाथि आरोप थियो । कार्की २०८० फागुन २ गते मोरङको प्रहरी प्रमुखको रूपमा आएका थिए । सामान्यतः प्रहरी अधिकृतहरूको एक वर्षे अवधि पूरा भएपछि मात्र नियमित सरुवा हुने गर्छ । तर, कार्कीलाई भने ८ महिनामै हेडक्वार्टर तानिएको हो ।

उनको ठाउँमा अपराध अनुसन्धान कार्यालयका एसपी राजन लिम्बूलाई पठाइएको छ ।

एसपी कार्कीविरुद्ध प्रहरी प्रधान कार्यालय र प्रधानमन्त्रीको कार्यालयमा समेत उजुरी परेको थियो । उनले तस्करीको सामानमा छुट दिएबापत विभिन्न व्यापारी र तस्करहरूसँग मासिक लाखौँ रूपैयाँ लिने गरेको आरोप लागेको थियो । त्यसबारे छानबिन भए पनि कुनै कारवाही भएको थिएन ।

भारतीय सीमा नाका, ढाट, दरैया, पोस्ट, उखुबारी, मटेरुवा, इस्लामपुरबाट तस्करी भइरहेको र भन्सार नतिरी लत्ताकपडा, कस्मेटिक आइटमहरू आइरहेको भन्दै कपडा तस्करहरूबाट मासिक साढे १० लाख, माछा व्यापारीबाट ९ लाख, किराना पसलबाट २ लाख, भन्सार एजेण्टबाट १ लाख, तरकारी, कुखुरा, ग्यासका सामान, हार्डवेयर पसल तथा गाई गोरु तस्करहरूबाट लाखौँ रुपैयाँ गरेर मासिक ३० लाखसम्म असुल्ने गरेको उनीविरुद्धको उजुरीमा दाबी गरिएको छ ।

निवेदनमा तस्करीमा संलग्न सीमा क्षेत्रमा व्यापारीहरूको नाम, फोन नम्बर र पसलको नाम समेत दिइएको थियो ।

२०८१ असारको पहिलो हप्ता एसपी कार्कीले खटाएका घुमुवाविरुद्ध प्रधानमन्त्री कार्यालयमा एउटा बेनामे उजुरी परेको थियो । उजुरीबारे छानबिन गर्न प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएको थियो । प्रदेश प्रहरी कार्यालयले अनुसन्धान गर्दा एसपी कार्कीले खटाएका घुमुवाहरूको बदनीयत नदेखिएको प्रतिवेदन हेडक्वाटरमा पठायो ।

एसपी कार्कीद्वारा परिचालित घुमुवाले तस्करसँग साँठगाँठ गरी दिनमा र रातमा लाइन चलाएर भन्सार नतिरी सामान ओसारपसार भइराखेको उजुरीमा उल्लेख थियो ।

‘पटक-पटक उजुरी परे पनि घुमुवा प्रहरीहरूलाई कारबाही नगरी प्रदेश प्रहरी कार्यालयले पनि त्यही काममा खटाएको’ उजुरीमा उल्लेख छ ।

प्रकाशित मिति: Oct 18, 2024

प्रतिक्रिया दिनुहोस्