Logo
७ पुस २०८१, आईतबार
(October 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छविलाल जोशीलाई  म्याद थप गर्ने प्रयोजनका लागि अदालतमा उपस्थित गराइयो

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराएको छ । म्याद थप गर्ने प्रयोजनका लागि उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोप लागेका उनी असोज ६ गते पक्राउ परेका थिए । उनलाई काठमाडौँको बानेश्वरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले जोशीसँग सुर्यदर्शनको निक्षेप गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेकोबारे लामो बयान लिएका छन् । जोशीसँग ३६ पेज लामो बयान लिइएको अनुसन्धानमा संलग्न कास्कीका एक जना प्रहरी अधिकृतले बताए ।

बयानमा जोशीले आफ्नो डिफेन्स गरेका छन् । सहकारीको रकम गितेन्द्रबावु राईले गोर्खा मिडियामा ल्याएको जोशीले बताएका छन् । बयानमा उनले भनेका छन्, ‘सहकारीबाट ल्याएको रकम मैले एक रुपैयाँ पनि खर्च गरिनँ ।’

सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीवी, पूर्वगृहमन्त्री रवि लामिछाने र जोशी मिलेर गोर्खा मिडिया नेटवर्क स्थापना गरेका थिए । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

जोशी रवि लामिछानेबारे मौन देखिएका छन् । उनीबारे थप अनुसन्धान गर्नुपर्ने भएकाले अदालतबाट थप म्याद लिने तयारी प्रहरीले गरेको हो ।

प्रकाशित मिति: Oct 18, 2024

प्रतिक्रिया दिनुहोस्