Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुर्कोटमा बेलीब्रिज जडान कार्य ८० प्रतिशत सकियो, सञ्चालनमा आउन अझै एक साता लाग्ने

काठमाडौँ । सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल बाढीले बगाएपछि मोडुलर प्यानल वृज (एमपीबी) जडानको कार्य ८० प्रतिशत सकिएको छ । अस्थायी एमपीबी बेलीब्रिज जडानको काम अब २० प्रतिशत बाँकी रहेको नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौँको प्राविधिक टोलीले बताएको छ ।

असोजको दोस्रो साता परेको अविरल  वर्षाका कारण बाढीले सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोर सेलेघाट जोड्ने सुनकोशी नदील पक्की मोटरेवल पुल आधा बगाएको थियो । उक्त पुलमा बुधबार नेपाली सेनाले एमपीबी राखेर सिन्धुली र रामेछाप जिल्लालाई जोडेको छ ।

नेपाली सेनाको चौध बाहिनी अड्डाको गौचर काठमाडौँको डिजिङ युनिट कमान्डर तथा हाल  निर्माण टोलीका ट्रान्फर कमान्डर प्रमुख सेनानी नारायण तुम्बाहाम्फेले बेलीब्रिज जडान शतप्रतिशत सकिने बताए ।

सडक डिभिजन कार्यालयले ब्रिज निर्माणका आवश्यक सामग्री तत्काल उपलब्ध गराए एक सातासम्म बेलीब्रिज जडान पूर्ण रूपमा सकिने बताए । आवश्यक सामग्री समयमा उपलब्ध गराए पनि यो बेलीब्रिज सञ्चालनमा आउन अझै एक साता लाग्ने बताए ।

असोजको दोस्रो सातामा तीन दिनसम्म परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढिले खुर्कोट र मन्थली जोड्ने यो पुल ५० मिटर बगाएको थियो । बाढीले पुल बगाएपछि बेलीब्रिज जडानका लागि सरकाले नेपाली सेनालाई जिम्मा दिएको थियो । नेपाली सेनाले बेलीब्रिज जडानको कार्य असोज  २० गतेदेखि थालेको थियो ।

प्रमुख सेनानी तुम्बाहाम्फेकाअनुसार २० गतेदेखि जडान कार्य सुरु गरेको भए पनि बिचमा दसैँ परेकाले ७ दिनमात्रै जडानको कार्य भएको छ । आवश्यक सामग्री अभावका कारण निर्माण कार्य ढिलाइ भएको तुम्बाहाम्फेको भनाइ छ ।

सो ब्रिज निर्माणको आवश्यक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाले दिने र नेपाली सेनाको श्रमदानमा बेलीब्रिज जडान गर्ने गरी सरकारले सेनालाई जिम्मा दिइएको थियो ।  तर सडक डिभिजन कार्यालयले पहिलो चरणमा ८० प्रतिशत सामग्री मात्रै पठायो । आउन बाँकी २० प्रतिशत सामग्री अति महत्त्वपूर्ण सामग्री थियो । फेरी दोस्रो चरणमा १० प्रतिशत मात्रै सामग्री आयो । र १० प्रतिशत सामग्री अपुग भयो ।

‘अति महत्त्वपूर्ण सामग्री  समयमा नआउँदा बेलीब्रिज जडान गर्न ढिला भएको हो । हेटौँडाबाट ९० प्रतिशत सामग्री ल्याइयो,’ उनी भन्छन्,‘१० प्रतिशत सामग्री नआएपछि फेरी लाहान र तनहुँमा रहेको नेपाली सेनाको बृजिङ युनिटबाट ल्याइयो । बुधबार बिहानमात्रै आइपुगेको छ ।’

सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल कुल १०० मिटरको  हो । बाढीले ५० मिटर बगाएको थियो । ५० मिटरलाई फिटमा रुपान्तरण गर्दा  कुल लम्बाई  १६७ फीट हुन्छ । तर १८० फिटको बेलीब्रिज जडान गरेको छ ।

अब दुई प्रकारको ब्रिज बनेको छ, एउटा ५० मिटर अर्को ५० मिटर पहिलाको स्टील ट्रस्ट बृज हो । त्यसै भित्रै बेलीब्रिज छिराएर जडान गरिएको छ ।

‘पुलको पनि लोड क्लास हुन्छ । जसको क्षमता २० टन हुन्छ तर त्योभन्दा ठुलो तौलका उपकरण पुलमा राखेर निर्माण गर्दा जोखिम थियो,’ तुम्बाहाम्फेले भने,‘जोखिम मोलेरै हामीले ब्रिज जडान गरेका  छौँ । यसमा तौलको सन्तुलन मिलाउन नसकेको भए धेरै नदीमा खस्ने खतरा थियो ।’

ब्रिज जडानको सबैभन्दा महत्त्वपूर्ण काम सकिएको छ । अझै धेरै काम बाँकी रहेको उनको भनाइ छ ।  ‘दुई चरणको पुल भएकाले बीचमा स्लोप हुन्छ  त्यो एउटा चरण बनाउन बाँकी छ । माथि पुलमाथि डेकिङ (गाडी गुडाउने,टेक्ने स्थान) बनाउन बाँकी छ । अर्को र्‍याम्प बनाउन बाँकी छ,’ उनले भने ।

बेलीब्रिज जडान पुरा भएपछि कति तौलको सवारीसाधन पुलले धान्न सक्छ परीक्षण गरेरमात्र सञ्चालनमा ल्याउने उनको भनाइ छ ।

प्रकाशित मिति: Oct 18, 2024

प्रतिक्रिया दिनुहोस्