Logo
१० पुस २०८१, बुधबार
(October 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टी-२० आई क्रिकेट: अमेरिकाविरुद्ध नेपालको शानदार विजयी सुरुआत

काठमाडौं । अमेरिकासँगको तीन खेलको टी-२० श्रृंखलामा नेपालले विजयी सुरुआत गरेको छ । पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो ।

अमेरिकालाई कम स्कोरमा रोक्न नेपालका लागि दिपेन्द्र सिंह ऐरिले ३ विकेट लिए। उनले ३ ओभरमा २७ रन खर्चे। रिजन ढकाल, करण केसी र गुल्सन झाले समान एक-एक विकेट लिए।

अमेरिकाका लागि सयान जहगिंरले सर्वाधिक ६० रनको अविजित पारी खेलेपनि टोलीको हार टार्न सकेनन्। उनले ३४ बलमा ६ चौका र २ छक्का हाने। आन्द्रेसले ३० र मिलिन्दले २२ रन थपे। जसदिप सिंहले १६ रन बनाए।

त्यसअघि अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको थियो।

एक समय १८।५ ओभरमा ५–१५९ को अवस्थामा रहेको नेपालले ५ रन जोड्न चार विकेट गुमाएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए। ३३ बलमा ४ चौका र १ छक्का प्रहार गरेका रोहित अर्धशतक नजिक पुग्दा रन आउट भए।

दिपेन्द्र सिंह ऐरि २८ रन बनाउँदा क्याच आउट भए। अमेरिकाविरुद्ध राम्रो सुरुवात गरेको नेपाल अन्तिम समयमा सम्हालिन सकेन। १९ औँ ओभरमा नेपालले लगातार दुई विकेट गुमायो। १९ औँ ओभरको पाचौँ बलमा दिपेन्द्रलाई गुमाएको नेपालले अन्तिम बलमा करण केसीलाई शून्य रनमा नै गुमाउन पुग्यो।

पहिलो विकेटका लागि ओपनर आशिफ शेख र अनिल शाहले ४८ रनको साझेदारी गरे। ओपनर अनिल शाह २७ रन बनाउँदा अलि खानको बलमा एलबीडब्लु धरापमा परे। १८ बलमा २ चौका र १ छक्का हानेका अनिल २७ रन बनाउँदा पेभेलियन फर्के।

२७ बलमा ४ चौका सहयोगमा २७ रन नै बनाएका अर्का ओपनर आशिफ हरमित सिंहको बलमा बोल्ड आउट हुन पुगे। कुशल भुर्तेल १० र गुल्सन झा ११ रनमा पेभेलियन फर्के।

अमेरिकाका लागि हरमित सिंह, शुभम नेत्रभल्कर र जसदिप सिंहले समान २ विकेट लिए। अलि खान र नोस्टुसले समान एक विकेट आफ्नो नाममा गरे।

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग ३ खेलको टी–२० आई सिरिज खेल्नेछ। त्यसपछि आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग त्रिकोणात्मक ओडीआई सिरिज खेल्नेछ तालिका छ। सिरिजको दोस्रो खेल आइतबार बिहान हुनेछ। टी–२० आईमा नेपाल र अमेरिका पहिलोपटक भेट भएका हुन्।

प्रकाशित मिति: Oct 18, 2024

प्रतिक्रिया दिनुहोस्