Logo
२८ पुस २०८१, आईतबार
(October 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

द्धन्द्धकालीन मुद्दा टुंगोमा पुर्याउन मन्त्रिपरिषद्बाट सर्च कमिटी बनाउन तीन दलका शीर्ष नेताबीच सहमति

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सर्च कमिटी बन्ने भएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटी टुंग्याउने निर्णय गरेको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको नाम टुंग्याउनेछ। सोही विषयमा छलफल गर्न शीर्ष तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू बालुवाटारमा जुटेका थिए।

छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाल सहभागी थिए।

शान्ति प्रक्रियासँग सम्बन्धित रहेको टीआरसी विधेयक सदनबाट पारित भइ राष्ट्रपतिबाट समेत प्रमाणीकरण भइसकेको छ । तर, लामो समयदेखि दुवै आयोग पदाधिकारी विहीन रहेका छन् । यसअघि नै सर्वोच्च अदालतले १ महिनाभित्रमा दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न आदेश दिएपनि तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले नियुक्ति प्रक्रिया अघि बढाउन सकेन् ।

गत चैतमा नै पदाधिकारी सिफारिसका लागि समिति बनेको थियो । तर, सो समितिले पनि काम अघि बढाउन सकेको छैन् । सरकारले राजनीतिक सहमतिको आधारमा आयोगमा पदाधिकारी नियुक्त गर्ने तयारी थालेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगमा नेपाली कांग्रेसले र वेपत्ता पारिएका व्यक्तिको छानबिन गर्नगठित आयोगमा नेकपा एमालेले अध्यक्ष पाउने र केही सदस्य प्रतिपक्षी दल माओवादी केन्द्रलाई दिने सरकारको तयारी छ ।

कांग्रेसले पाउने सत्य निरुपण तथा मेलमिलाप आयोगमा संविधानविद् तथा पूर्व सांसद राधेश्याम अधिकारी र एमालेले पाउने आयोगमा पूर्व कानूनमन्त्री अग्निप्रसाद खरेल अध्यक्ष बन्ने चर्चारहेको छ । यद्यपि कांग्रेसको कोटाबाट यसअघि अध्यक्ष भएका गणेशदत्त भट्टले पनि पुन: सोही पदमा जान इच्छा राखेका छन् । सुदूरपश्चिमका भट्ट कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणामार्फत अध्यक्षमा दोहोरिने दाउमा छन् ।

प्रकाशित मिति: Oct 17, 2024

प्रतिक्रिया दिनुहोस्