Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार बदलिने बेला भएको छैन, २१ महिनापछि देउवालाई दिन्छु : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म कायमै रहने बताएका छन्।

दशैँपछि सरकार तत्काल परिवर्तन हुन्छ भन्ने भ्रम फैल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता खालको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे।

२०८४ सालको दशैँपछि मात्र सरकार परिवर्तन हुने उनको जिकिर थियो। ६९ औं प्रहरी दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २ वर्षे आफ्नो कार्यकाल पूरा हुनेबित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि दोहोर्‍याए।

उनले देउवाले चुनावी सरकारको नेतृत्व गर्ने र चुनाव सम्पन्न भएपछि नयाँ सरकार बन्ने तर त्यसअघि कांग्रेस–एमाले गठन सरकार कायमै रहने दाबीसमेत गरे। कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार करिब दुई तिहाईको सरकार भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई खरानीको डल्लो नसम्झन पनि चेतावनी दिए।

उनले भने,  ‘म सबैलाई आश्वस्त रहनु पनि आग्रह गर्न चाहन्छु कि कुनै पनि प्रकारका भ्रमहरुमा नपर्न म आग्रह गर्न चाहन्छु। अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने कुरा पनि सुनिन्छ। दशैंपछि तुरुन्त परिवर्तन हुन्छ रे। कुन दशैँपछि? २०८४ सालको दशैँपछिको चुनावमा? त्यसभन्दा पहिला मैले पहिले नै भनिसकेको छु–मैले एक वर्ष नौ महिना जति रह्यो होला। त्यसपछि शेरबहादुरजीलाई हस्तातन्तरण गर्छु भनेर मैले पहिला नै भनिसकेको छु। त्यसपछि आफैँ फेरिन्छ यो सरकार।’

प्रधानमन्त्री ओलीले वर्तमान शासन प्रणालीको विकल्प सोच्न पनि नसकिने पनि बताए। त्यस अवसरमा उनले नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको दिएको योगदानको प्रशंसासमेत गरेका थिए।

प्रकाशित मिति: Oct 17, 2024

प्रतिक्रिया दिनुहोस्