Logo
३० आश्विन २०८१, बुधबार
(October 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुनर्निर्माणको काम फटाफट हुन्छ : प्रधानमन्त्री

 प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनको काम अघि बढाइने बताएको छ।

प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत तथा अस्थायी आवास र पुल निर्माणबारे निर्णय गरिने जानकारी गराए।

उनले बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने विभिन्न सडक अवरुद्ध भएकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले सीमित बजेटका बावजुद सकभर मागेरभन्दा आफ्नै बलबुतामा पुनः निर्माण र पुनःव्यवस्थापनका कामहरु गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा सहभागी प्रतिनिधिमण्डलले  खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एक मात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएपछिको जिल्लाको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएको थियो।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमेत सहभागी रहेको सो भेटघाट कार्यक्रममा सांसदहरु रामकुमार राई, सरस्वती बजिमय, कोशी प्रदेश सांसदहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलगायत उपस्थित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: Oct 16, 2024

प्रतिक्रिया दिनुहोस्