Logo
२ कार्तिक २०८१, शुक्रबार
(October 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थापाथलीस्थित परोपकार अस्पतालले दशैँ/तिहार बिदामा पनि सेवा दिने

 काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले दशैँ तिहारको बिदामा पनि उपचार सेवा दिने जनाएको छ।

सोमवार  संक्षिप्त कुराकानी गर्दै अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक बिदाको दिन पनि विरामीहरुले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पारेका हुन्।

अस्पतालले दशैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक बिदा दिने गर्छ तर ती सार्वजनिक बिदाको दिनमा ओपीडी सेवा बन्द भए पनि सबै विरामीको उपचार इमर्जेन्सी सेवाबाट हुनेगरी २४ घण्टा नै चिकित्सकहरु परिचालित हुने निर्देशक अधिकारीले बताए।

‘दशैँको ३ दिन, स्पेसली फूलपाती, अष्टमी र दशमी। यसपाली नवमी भएन। ३ दिन हामीले सार्वजनिक बिदा नै गरेका छौँ। यसमा हाम्रो २४ घण्टा नै इमर्जेन्सी सर्भिस चल्छ‚’ उनले भने‚ ‘कुनै पनि विरामीहरुले अस्पताल बिदा छ भनेर कुनै समस्या परेर अस्पताल बन्द छ भनेर घर बस्नुपर्ने अवस्था हुँदैन। किनभने उहाँहरुलाई कुनै पेट दुखेमा, बच्चा कम चलेमा, ब्लड गएमा अथवा कुनै सामान्य समस्या पानी बगेमा र मलाई केही भयो कि भन्ने शंका लागेमा उहाँहरु तुरुन्तै इमर्जेन्सीमा आएर जँचाउन सक्नुहुन्छ।’

उनले सार्वजनिक बिदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै विरामीहरुको उपचार हुने भएकाले त्यस्ता विरामीहरुले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने बताए।

‘हामी पहिले नै तयार भएर बस्छौँ ड्युटीमा रहेका कुनै पनि डाक्टरले बिदा नलिने भनेर। त्यो युनिट, जसले आजको ड्युटी गर्छ, फूलपातीमा, अष्टमी ड्युटी गर्छ‚’ उनले भने, ‘उहाँहरुले आफ्नो ग्रुपमा समयमै ड्युटीमा आउने, सकेसम्म बिदा नलिने, लिन परे रिप्लेस गरेर लिने। यसरी हामीले ह्युमन रिसोर्सलाई पनि मिलाएका छौँ।’

बिदामा पनि आफूहरुले उपचार २४ सै घण्टा सेवा दिने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक अधिकारीले बताए। निर्देशक डा. अधिकारीले बिदाको दिनमा पनि करिब १२ जना चिकित्सकहरुको समूह २४ घण्टा नै उपचारका लागि परिचालन हुने गरेको बताए।

‘गर्भवतीहरुले पनि बच्चा आज कम चल्यो, अथवा पानी बगेजस्तो भयो अथवा अलि पेट दुखेजस्तो भयो। उहाँहरुलाई मलाई केही भयो कि भन्ने शंका लाग्यो भने बिदाको दिन छ भनेर घर बस्नु पर्दैन, तुरुन्त इमर्जेन्सी डाईरेक्ट आउन सक्नु हुन्छ र ठिक छ भनेर भिडियो एक्सरे लगायतका गरेर बरु घर जान सकिन्छ‚’ उनले भने, ‘तर बिदाको दिन भनेर डाक्टर भेट्दैन कि भनेर सोच्नुपर्दैन। किनभने हामी डयुटीमा कम्तिमा हामी एमडी गरिसकेका १२ जना डाक्टरहरुको टिम दैनिक २४ घण्टा नै बसिरहेका हुन्छन्।’

दशैँको ४ दिन, तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रीको दिन अस्पतालले सार्वजनिक बिदा दिने गरेको छ। त्यसबाहेकका अन्य सार्वजनिक बिदाहरुमा आधा दिन अस्पतालले विरामीलाई सेवा दिने पनि अस्पतालले जनाएको छ।

अस्पतालमा हाल गर्भवती महिलाहरुको चाप बढेको छ। असार, साउन, भदौ, असोजमा गर्भवतीको संख्या बढेर महिनामा करिब २ हजारको संख्या पुग्ने गरेको पनि निर्देशक डा. अधिकारीले बताए।

 

प्रकाशित मिति: Oct 7, 2024

प्रतिक्रिया दिनुहोस्