Logo
२८ कार्तिक २०८१, बुधबार
(October 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँ उपत्यकाको १४ ठाउँमा यात्रु सहायता कक्ष, के–के दिन्छ सेवा ?

काठमाडौँ । दसैँ तिहारमा गाउँ फर्किनेहरूलाई सहयोग गर्नेगरी उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । सहायता कक्षहरु काठमाडौँ उपत्यकामा १४ ठाउँमा स्थापना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले बताए ।

काठमाडौँको नागढुंगा, कलङ्की, बाफल, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, बल्खु, दक्षिणकाली र सुन्धारामा सहायता कक्ष स्थापना गरिएको छ । भक्तपुरको जगाते, ललितपुरस्थित सातदोवाटो र चापागाउँमा पनि सहायता कक्ष स्थापना गरेर ट्राफिक प्रहरीले सेवा दिइरहेको छ ।

अस्थायी रूपमा निर्माण गरिएको सहायता कक्षमा दुई जना ट्राफिक प्रहरी खटिन्छन् । ट्राफिकसँगै सम्बन्धित वृत्तका प्रहरी र सामुदायिक प्रहरी पनि खटाउने गरी उपत्यका प्रहरी कार्यालयले सुरक्षा योजना लागू गरेको छ । सुरक्षा योजनाअनुसार सहायता कक्षमा खटिने प्रहरीले सचेतनामूलक जिङ्गल बजाउँछन् ।

यात्रुहरूलाई उनीहरूको सुरक्षाको लागी प्रहरी परिचालन गरिएको छ भनेर सहायता कक्षमा बस्नेहरूले सुसूचित गर्ने गरी जिम्मेवारी तोकिएको डीएसपी कार्कीले जानकारी दिए । उनले भने, ‘यात्रुहरूको गुनासो र  पिरमर्का सूक्ष्म रूपमा मनन् गरेर आवश्यक सहयोग गर्ने गरी सहायता कक्ष सञ्चालन गरिएको छ ।’

यात्रुलाई भाडाबारे जानकारी नभएमा मुख्य चोक र काउन्टर नजिकै सञ्चालित सहायता कक्षमा देखिनेगरी भाडाको सूची टाँसिएको छ । सहायता कक्षमा खटिएका प्रहरीले टिकट काउन्टरमा पनि दररेट राख्न लगाउँछन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी कार्की भन्छन्, ‘नियमभन्दा धेरै भाडा लिएकोबारे सूक्ष्म अनुगमन, फर्जी र दोहोरो टिकटबारे छानबिन गर्ने अधिकार सहायता कक्षमा परिचालित ट्राफिक प्रहरीलाई दिइएको छ ।’

बस र अन्य यात्रुवाहक सवारी छुटेमा यात्रुलाई सो सवारीमा चढाउन सहायता कक्षका प्रहरीले सहयोग गर्छन् । धेरै भाडा लिने र सिट क्षमताभन्दा बढी यात्रु चढाउनेलाई कारबाही गर्ने अधिकार सहायता कक्षमा बस्ने प्रहरीलाई दिइएको छ ।

प्रकाशित मिति: Oct 7, 2024

प्रतिक्रिया दिनुहोस्