Logo
१० पुस २०८१, बुधबार
(October 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिहारअघि खुर्कोट-मन्थली पुल सञ्चालनमा ल्याउने तयारी

२१ असोज, काठमाडौं । वर्षासँगै आएको बाढी क्षतिग्रस्त बनाएको सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल तिहार अघिसम्म निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।

खुर्कोट-मन्थली वारपार गर्न सुनकोशी नदीमाथि पक्की पुल र बेली ब्रिज सञ्चालनमा थिए । तर, ११ र १२ असोजमा सुनकोशी नदीमा आएको बाढीले बेली ब्रिज बगाउनुका साथै पक्की पुलमा समेत क्षति पुर्‍याएको थियो । त्यसपछि अहिले खुर्कोट-मन्थली यातायात ठप्प छ । पैदल यात्रीहरु समेत बाढीले जिर्ण बनाएको झोलुंगे पुलमा जोखिम मोलेर वारवार गर्दै आएका छन् ।

खुर्कोट-मन्थली पुलमा क्षति पुगेपछि अहिले स्थानीयहरु जोखिम मोलेर सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप नगरपालिका-९ मा जोडिएको क्षतिग्रस्त झोलुंगे पुलमा जोखिम मोलेर वारपार गर्दै छन् ।

सिन्धुलीतर्फको वीपी राजमार्ग र रामेछापतर्फको मध्यपहाडी राजमार्ग समेत जोड्ने पुलमा सुनकोशीले क्षति बनाएपछि अहिले त्यसको पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ ।

खुर्कोट-मन्थली पक्की पुलको रामेछापतर्फको मुखको भागमा क्षति पुगको छ । सडक डीभीजन कार्यालय सिन्धुलीका प्रमुख पारसमणि हमालकाअनुसार रामेछापतर्फको मुखको ५० मिटर पुनर्निर्माण गर्नुपर्ने अवस्था आएको छ ।

‘पुलको दुवैतर्फको मुखमा क्षति पुगेको छ । खुर्कोटतर्फको क्षति सामान्य डोजरकै प्रयोगबाट निर्माण हुनसक्छ । तर रामेछापतर्फको मुखमा ५० मिटर जति पुनर्निर्माण गर्नुपर्ने हुन्छ’ हमालले भने ।

५० मिटरजति नयाँ स्ल्याब नै थपेर पक्की पुल पुनर्निर्माण गर्नुपर्ने भए पनि अहिले भने जतिसक्दो छिटो बेली बिज्र जोडेर पुल सञ्चालनमा ल्याउने गरी काम सुरु गरिएको छ ।

बेली ब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालय हेटौंडाबाट सामानहरु समेत ल्याउन थालिएको छ । सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख हमालकाअनुसार शनिबारदेखि हेटौंडाबाट बेली ब्रिजको सामानहरु ल्याउन थालिएको छ ।

उनका अनुसार अहिलेसम्म ७० प्रतिशत समान खुर्कोट आइसकेको छ । बाँकी ३० प्रतिशत सामान पनि आइतबार रातिसम्म भए पनि खुर्कोट झार्ने योजना रहेको छ ।

डिभिजन कार्यालय हेटौंडामा रिजर्भमा राखिएका बेली ब्रिजका सामानहरु अहिले खुर्कोट आइपुगको हुन् । हमालका अनुसार सडक डिभिजन कार्यालयहरुमा रिजर्भको रुपमा बेली ब्रिजका सामानहरु राखिंदै आएको छ । यस्तै विपत्तिहरुमा ती सामानहरु प्रयोग हुँदै आएका छन् ।

उक्त बेली ब्रिज बनाउने जिम्मा भने नेपाली सेनालाई दिइएको छ । त्यसका लागि प्राविधिक तथा इन्जिनिरसहितको नेपाली सेनाको १६ जनाको टोली खुर्कोटमा खटिसकेकोे छ । ‘हाम्रो प्राविधिकसहितको टोली खुर्कोट पुगेर अध्ययन सुरु गरिसकेको छ । जतिसक्दो चाँडो सडक चालु गर्ने योजनासहित सेनाले काम गरिरहेको छ’ नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव केसीले  भने ।

सडक डिभिजन कार्यालयसँगै समन्य गरेर नेपाली सेनाको टोलीले अहिले बेली ब्रिज राख्नुपूर्वको प्रि-वर्कको कामहरु गरिरहेको छ । यसमा नक्सांकनदेखि कसरी काम गर्ने भन्ने विषयहरु अध्यनन भइरहेका छन् ।

५० मिटरको बेली ब्रिज बनाउन सामान्य अवस्थामा १२ देखि १५ दिन लाग्ने इन्जिनियर हमाल बताउँछन् । तर, अहिले खुर्कोटमा बेली ब्रिज बनाउने ठाउँमा अफ्ठ्यारो पहरो भएका कम्तीमा पनि २०/२२ दिनसम्म लाग्ने उनी बताउँछन् ।

सकेसम्म तिहारअघिसम्म सञ्चालनमा ल्याउने गरी काम सुरु गर्ने तयारी रहेको छ । तर, सञ्चालनमा ल्याउन सकिने/नसकिने अहिले यकिन गर्न मिल्ने अवस्था नरहेको उनी बताउँछन् । ‘तिहारअघिसम्म सञ्चालनमा ल्याउने लक्ष्य हाम्रो छ । त्यहाँको भूगोल जटिल रहेकाले यसै भन्ने अवस्था अहिले छैन’ उनले भने ।

यसका साथै नेपाली सेनाले रोशी गाउँ पालिकामा पर्ने बीपी राजमार्गको निर्माणमा पनि सक्रिय भएको छ । बीपी राजमार्गको वैकल्पिक व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्राविधिकसहितको टोलीले अध्ययन गरेको थियो । अहिले स्थानीय तहसहितको सहयोगमा काम भइरहेको छ । यद्यपि बीपी राजमार्ग दशैंअघि सञ्चालनमा नआउने भनेर पत्रकार सम्मलेन नै गरेर यसअघि नै भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले बताएका थिए ।

यसका साथै कान्ती लोकपथ निमार्णको लागि पनि नेपाली सेना खटिएको छ । त्यसैगरी ताप्लेजुङको हेवा खेलामा पनि सडक पुल निर्माणको लागि नेपाली सेनाले काम गरेको थियो । मेची राजमार्गमा पर्ने ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा अस्थायी रुपमा मानिसहरु आवत जावत गर्न मिल्ने गरी सेनाले पुल निर्माण गरेको छ । तारको लड्ठामा बाँस बिच्छ्याएर अहिले हेवा खोला वारपार गर्न मिल्ने गरी काम सम्पन्न गरिएको सेनाले जनाएको छ ।

यता सशस्त्र प्रहरी बलले इलामको माइखोला राजमार्गको पनि काम तिव्र गतिमा अघि बढाएको छ । यो राजमार्ग हुँदै ताप्लेजुङसम्म पुग्न सकिन्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्यांकअनुसार २१ हजार ५ सय मिटर सडक क्षतिग्रस्त भएको छ । जसको मर्मत गरी यातायात सञ्चालन गर्न अनुमानित एक अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

त्यसैगरी बेली ब्रिजतर्फ २०० सय मिटर क्षति भएको छ । यसको पुनर्निर्माणका लागि २० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । त्यस्तै ४१० मिटर पक्की पुलमा क्षति भएको छ । यसको पुनर्निर्माणका लागि ८२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

प्रकाशित मिति: Oct 7, 2024

प्रतिक्रिया दिनुहोस्