Logo
५ माघ २०८१, शनिबार
(October 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काभ्रेको रोशीखोलाबाट यात्रुलाई बोकेर उद्धार गर्दै सशस्त्र

काठमाडौँ । अविरल वर्षाको कारण काभ्रेको रोशीखोला क्षेत्रमा अलपत्र परेका बिरामी र यात्रुलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ । सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डेवेशीसम्म १० भन्दा धेरे ठाउँको सड्क रोशीले कटान गरेको छ ।

पूर्व क्षेत्र र तराईबाट आएर काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ दाउन्ने, वडा नम्बर ८ पिन्थली र नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडामा अलपत्र परेका यात्रुको सशस्त्रले उद्धार गरेको हो ।

जनकपुरबाट एम्बुलेन्समा आएका र दाउन्नेमा ३ दिनदेखि अलपत्र स्पाइनल इन्जुरीको बिरामी लाई सशस्त्रले बाँसको खट बनाएर उद्धार गरेको छ । स्पाइनल इन्जुरीको समस्या भएका ६५ वर्षीय रामचन्द्र यादव लाई बाँसको खट बनाएर करिब १५ किलोमिटर बोकेर सेनाको हेलिकप्टरसम्म लगिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बलका एसपी प्रेम प्रसाईं नेतृत्वको टिमले बाटोमा अलपत्र मधुमेहको समस्या भएका ६९ वर्षीय शम्भु चौधरी, ५९ वर्षीया रितादेवी चौधरी, टाइफाईड भएका ३० वर्षीय कुमार तामाङ र बिरामी लिएर काठमाडौँ आउँदै गरेका ६५ वर्षीय जोगेन्द्र यादवलाई उद्धार गरेको छ । उनीहरू जनकपुरबाट उपचारको लागी काठमाडौँ आउँदै थिए ।

रोशी गाउँपालिका वडा नम्बर–८ स्थित पिन्थलीमा अलपत्र वृद्ध, अशक्त र बिरामी परेका १३ जनालाई सशस्त्रले बोकेर सुरक्षित तरिकाले सड्क पार गराएको छ ।

रोशी गाउँपालिका वडा नम्बर–९ स्थित नार्के बजारको १३ वटा पक्की घर रोशी खोलाले बगाएको छ । घर बगाएपछि विस्थापीत भएकाहरुलाई सशस्त्रले दुईवटा जस्ताको टहरा निर्माण गरेको छ । वडा नम्बर–८ मा १३ घर परिवारका लागी टहर निर्माण गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

रोशीखोला, दाउन्ने र भ्याकुरे खोलाको कारण बाटो पार गर्न नसकेर अलपत्र यात्रुलाई सहजिकरण गर्न सशस्त्रले सो क्षेत्रका ५ ठाउँमा गोरेटोबाटो र अस्थायी पुल निर्माण गरेको छ । जोखिममा रहेका घरको सामानहरु सार्न पनि सशस्त्रले स्थानीयलाई सहयोग गरेको छ ।

नमोबुद्ध नगरपालिका–६ स्थित चौकिडाँडामा ३ दिनको सुत्केरी महिला र नवजात बच्चालाई खोला तारेर सशस्त्रका सकलदर्जाले ४ किलोमिटर पार गराएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । रोशीखोला क्षेत्रमा उद्धार गर्न सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रसाईँको नेतृत्वमा ६० जना उद्धारकर्मी खटिएका छन् ।

असोज १४ मा अलपत्र ९ जना भारतीयलाई सशस्त्रले कटुन्जेमा फेला पारेर आर्मीको हेलिकप्टरमार्फत धुलिखेल पठाएको थियो । चौकीडाँडा स्थित भीरमा अलपत्र ७५ जना यात्रुलाई सशस्त्रले सहायता दिएर भिर कटाएको छ ।

प्रकाशित मिति: Oct 2, 2024

प्रतिक्रिया दिनुहोस्