Logo
१४ आश्विन २०८१, सोमबार
(September 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी-पहिरोबाट ६ विद्यार्थीको मृत्यु, ४२ विद्यालयमा क्षति

 गत बिहीबार र शुक्रबारको अविरल वर्षाले  बाढी र पहिरो जाँदा ४२ वटा सामुदायिक विद्यालयहरूमा क्षति पुगेको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले  हिजो बेलुकासम्म प्राप्त विवरणअनुसार हुम्ला, जाजरकोट, सिन्धुली, तेह्रथुम रसुवा, मकवानपुर, मोरङलगायत जिल्लाका ४२ वटा विद्यालयहरूमा क्षति पुगेको जनाएको छ।

मन्त्रालयको विद्यालय क्षति विवरणमा कुनै विद्यालय भत्किएका छन् भने कतै पुरिएका उल्लेख छ। तेह्रथुमको फेदाप गाउँपालिकाको महाकाली माध्यमिक विद्यालयको चार कोठे भवन भत्किएको छ। मकवानपुरको ऋशेश्वर आधारभूत विद्यालयको २ वटा कक्षाकोठा पहिरोले पुरिएको छ। मोरङको रंगेली नगरपालिका सरस्वती माध्यमिक विद्यालयको २४ कक्षा कोठा विपद् प्रभावित परिवारहरूले प्रयोग गरिरहेका छन्।

पहिरोमा पुरिएर ६ विद्यार्थीको मृत्यु

बाढीपहिरोबाट विद्यार्थीहरूको अकालमै ज्यान गएको छ। मकवानपुर, इन्द्रसरोवर गाउँपालिकाको बात्सल्यदेवि माध्यमिक विद्यालय कक्षा ८–१० का ६ जना विद्यार्थीहरूको पहिरोबाट पुरिएर मृत्यु भएको मन्त्रालयको विद्यालय क्षति विवरणमा उल्लेख छ।

गृह मन्त्रालयको अनुसार गत बिहीबार र शुक्रबारको अविरल वर्षाले निम्त्याएको प्रकोपबाट देशभर ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ। विपद्मा परेर कम्तीमा ३१ जना बेपत्ता छन्। बाढीपहिरोमा परेका ३७ सय ५ जनाको उद्धार गरिएको छ।

झण्डै ११ हजार विद्यार्थी प्रभावित

बाढीपहिरोले यी विद्यालयहरूमा क्षति पुग्दा झण्डै ११ हजार विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ। बाढीपहिरोबाट १० हजार ९ सय विद्यार्थीको पठनपाठन प्रभावित भएको मन्त्रालयले जनाएको छ। दशैँ नजिकिँदै गर्दा सामुदायिक तथा निजी विद्यालयहरूमा परीक्षा सञ्चालन भइरहेको थियो। परीक्षा सकिएपछि दशैँको लागि बिदा हुने र त्यसपछि अभिभावकहरू दशैँ मनाउन गाउँ जाने तरखरमा थिए।

तर,परीक्षा,पठनपाठन रोकिएपछि विद्यार्थी र अभिभावकहरूमा चिन्ता थपिएको छ। अविरल वर्षाले देशभर बाढीपहिरो गएपछि शिक्षा मन्त्रालयले आइतबारदेखि शिक्षण संस्थाहरूमा ३ दिन बिदा दिएको छ।

देशभरका शैक्षिक संस्थामा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढीपहिरोको चपेटामा परेको, यातायात अवरूद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।

क्षति पुगेको विद्यालयमा कसरी हुन्छ पठनपाठन?

शिक्षा मन्त्रालयका प्रवक्ता  लक्ष्मीप्रसाद भट्टराईका अनुसार अझै बाढीपहिरोबाट क्षति पुगेको विद्यालयहरूको संख्या बढ्ने देखिएको छ। उनले यो विद्यालय क्षति विवरण हिजो (आइतबार) साँझसम्म प्राप्त विवरण रहेको जानकारी दिए। ‘हामीले यो अपडेट गरेको चाही हिजो बेलुकासम्मको विवरण हो, आज पनि क्षति विवरण आउला,हामी बेलुका अपडेट गर्नेछौँ,’उनले भने।

क्षति पुगेका विद्यालयहरूमा अब कसरी पठनपाठन, परीक्षा सञ्चालन हुन्छ? भन्ने प्रश्नमा उनले आवश्यकअनुसार अवस्था हेरेर स्थानीय तहहरूले निर्णय लिनसक्ने जानकारी दिए।

उनले भने,‘हामीले क्षति पुगेको विद्यालय विवरण मागेका छौँ,आउने क्रम जारी छ,अब सामान्य क्षति पुगेको विद्यालयमा स्थानीय तहले अवस्था हेरेर सञ्चालन गराउन सक्छ,अब पूर्ण क्षति भएको हकमा हामीले पहिला पनि बजेट पठाएका छौँ,यसमा स्थानीय तहहरूले सकेको व्यवस्थापन गर्छन्,थप यसबारे मन्त्रालय पनि निर्णय गरेर अघि बढ्छौँ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक अर्जुन ढकालका अनुसार नेपालमा मनसुन प्रवेश गरेपछि जुलाई १५ (असार ३१ गते) सम्ममा विभिन्न जिल्लाका ८४ विद्यालयमा क्षति पुगेको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा असार २४ गतेदेखि साउन २ गतेसम्म मात्रै ७ विद्यालयमा क्षति पुगेको उल्लेख थियो। यी हिसाबले बाढी पहिरोबाट यो वर्षमा धेरै विद्यालयहरूमा क्षति पुग्ने देखिएको छ।

 

प्रकाशित मिति: Sep 30, 2024

प्रतिक्रिया दिनुहोस्