Logo
१४ आश्विन २०८१, सोमबार
(September 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काभ्रेको मंगलटार क्षेत्रबाट सेनाको हेलिकप्टरमार्फत ३ सय जनाको उद्धार

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिकास्थित मंगलटार क्षेत्रमा भ्याकुरे खोला र रोशीले वितण्डा मच्चाएका छन् । बाढीका कारण अलपत्र परेका ३ सय जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बिरामी, घाइते र जेष्ठ नागरिकलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर धुलिखेल पठाइएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले रातोपाटीलाई बताए ।

सोमबार मात्रै रोशी गाउँपालिका स्थित वडा नम्बर–९ र ११ बाट २ सय जनालाई उद्धार गरिएको छ । आइतबार बिहानबाट सुरु गरिएको उद्धार अहिले पनि जारी छ ।

रोशी, भ्याकुरे र माम्ती खोलामा आएको बाढीका कारण बीपी हाइवे अवरुद्ध भएपछि मंगलटाबाट करिब ७ हजार मानिसहरू हिँड्दै भकुण्डेवेशी पुगेका छन् ।

१ हजार ६ सय यात्रुलाई भ्याकुरे खोला पार गराएर गन्तव्यतर्फ पठाएको इन्स्पेक्टर गिरीले बताए । कालढुंगामा रोशीमा मिसिने भ्याकुरे खोलाको बहाव नघट्दा सो क्षेत्रका स्थानीय बिचल्लीमा परेका छन् ।

सिन्धुलीतर्फबाट आएका १ सय ५ वटा सवारीलाई प्रहरीले सुरक्षित पार्किङ गराएर राखेको छ । वीपी हाइवेको मंगलटार क्षेत्रमा करिब ५ सय सवारी साधन रोकिएका छन् । भकुण्डे–मंगलटार खण्डमा ६ ठाउँको सड्क रोशीले बगाएको छ ।

प्रहरीले २० बोरा चिउरा र दालमो वितरण गरेको छ । करिब ४ मानिसहरूलाई सडकमै प्राथमिक उपचार गरिएको छ । उद्धार गरिएका १ सय जनालाई मंगलटारस्थित इलाका प्रहरी कार्यालयमा सेल्टर दिइएको इन्स्पेक्टर गिरीले जानकारी दिए ।

प्रकाशित मिति: Sep 30, 2024

प्रतिक्रिया दिनुहोस्